जिम्मेवार ढंगले २००७ देखिकै फाइल खोलौं र कारबाहीमा कुनै मोलाहिजा नगरौं ः महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन खोजियो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिमा आपत्ति जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि शनिबार संसदमा भएको छलफलमा महामन्त्री शर्माले को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए । एमाले अध्यक्ष ओलीले रोष्टममै उभिएर भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भनेका थिए ।
यसमा आफ्नो विमति रहेको भदै महामन्त्री शर्माले भने, ‘यहाँबाट फैसला सुनाउनका लागि हामी न्यायाधीश होइनौं । उनले अगाडि भने, ‘अमुक कोही निर्दोष हुनुहुन्छ, उहाँलाई फसाउन खोजिँदैछ भन्ने अभिव्यक्तिमा विमति जनाउन चाहन्छु । कांग्रेस नेताहरु विगतमा जेल परेको र अहिले पनि मुद्दा सामना गरिरहेको भएपनि को निर्दोष को दोषी नभनेको महामन्त्री शर्माले बताए । अहिले आवेगले चल्ने नभई सरकारलाई साथ दिने समय भएको उनले बताए ।
शर्माले अगाडि, ‘भ्रष्टाचारको फाइल खोलेको बेला बधाइ छ सरकार भन्ने समय हो । सरकारलाई दिएको समर्थन फिर्ता लिने समय होइन । उनले २००७ सालदेखिकै फाइल खोलेर दोषीलाई करबाही गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस महामन्त्री शर्माले भने, ‘अमुक फाइल खोल्यो भने अमुक दलको अध्यक्षलाई तान्न सकिएला, अमुक फाइल खोल्यो भने चाहिँ अर्को पार्टीको अध्यक्षलाई तान्न सकिएला भन्ने मनोविज्ञानले होइन । जिम्मेवार ढंगले ००७ देखिकै फाइल खोलौं र कारबाहीमा कुनै मोलाहिजा नगरौं ।