प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस कार्कीविरूद्व उजुरी आह्वान

काठमाडौं । संसदीय सुनुवाइ समितिको पहिलो बैठक मंगलबार बसेको छ । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बैठक बसेको हो । बैठकले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरूद्व उजुरी आह्वान गरेको छ । जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद सचिवालयलाई निर्देशन दिएका हुन् ।

संवैधानिक परिषद्ले वैशाख २५ मा वरिष्ठतम न्यायाधीश कार्कीको नाम सिफारिस गरेको थियो । २७ गते सुनुवाइ समितिमा कार्की सिफारिस गरेको पत्र आएको थियो । समितिको कार्यविधिअनुसार संवैधानिक परिषदबाट प्रस्तावित व्यक्तिको सिफारिसबारे सर्वसाधारणलाई जानकारी दिने र कुनै सूचना वा उजुरी दिन आह्वान गरिएको हो ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीले उजुरी आह्वानको सूचना सरकारी सञ्चारमाध्यमार्फत प्रकाशित गरिने जानकारी दिए । १० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । कार्कीविरूद्व लिखित वा इमेलमार्फत उजुरी दिन सकिनेछ ।

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि ०७८ फागुन १ मा महाभियोग लागेपछि सर्वोच्च अदालत १५ महिनादेखि कामुको भरमा चलिरहेको छ । जबराले २७ मंसिर ०७९ मा निलम्बनकै अवस्था अवकाश पाएका थिए । जबरा अवकाश भएको ६ महिना पुग्दा पनि नयाँ प्रधानन्यायाधीश नियुक्त हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *