रेशम चौधरी सांसदको उम्मेदवार बन्न नपाउने

काठमाडौं । राष्ट्रपतिबाट आममाफी पाएर जेलबाट छुटेका रेशम चौधरी यतिबेला जिल्ला दौडाहमा लागेका छन् । सोमबार बिहान डिल्लीबजार कारागारबाट निस्केलगत्तै धनगढी पुगेका चौधरीले अर्को निर्वाचनमा बहुमत ल्याउने घोषणा गरे । त्यति मात्र होइन, उनले टीकापुरलाई अर्कै जिल्ला बनाउने दाबी पनि गरे ।

२०७४ को निर्वाचनमा फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट चुनाव जितेका थिए । त्यसबेला उनी राजपा पार्टीबाट उम्मेदवार बनेका थिए । तर पाँच वर्षे सांसद कार्यकालमा उनले एकपटक पनि संसद् टेक्न पाएनन् ।

त्यही बीचमा उनले प्रहरीसँग आत्मसमर्पण गरे । अदालतले उनलाई टीकापुर हत्याकाण्डको मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । तर, उनी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भए ।

चौधरी टीकापुर हत्याकाण्डमा ६ वर्ष जति मात्रै कारागारमा बसे । अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो । त्यसका लागि उनले २० वर्ष जेल जीवन बिताउनुपथ्र्यो । तर चौधरी राज्यसत्ताको दुरुपयोग गर्दै ६ वर्षमै निस्के ।
उनलाई आममाफी दिएकोमा चौतर्फी आलोचना भयो ।

तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चौधरीलाई अन्याय भएको बताए । उनले चौधरी अझै कसुरदार रहेको टिप्पणी गरे । यसले के देखाउँछ भने चौधरीको राजनीति करियर सकिएको छ । उनले राजनीति गर्न पाउने तर सांसदको उम्मेदवार बन्न भने नपाउने भएका छन् ।

संविधानअनुसार फौजदारी कसुरमा सजाय तोकिएको व्यक्ति सांसदको उम्मेदवार बन्न पाउँदैनन् । चौधरीले आममाफी मात्र पाएका हुन् । सजाय छुट भएको हो । कसुर माफी भएको होइन । त्यसैले अहिले पनि चौधरी कसुरदार हुन् । दोषी सावित भएका व्यक्ति हुन् । त्यसैले चौधरी नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न सक्नेछन् । तर चुनावमा उठ्न पाउने छैनन् ।

चौधरी आफैंमा विवादित व्यक्ति हुन् । उनले दुईवटा बिहे गरेका छन् । जेठी श्रीमती रञ्जिता श्रेष्ठ छिन् । उनी अहिले मन्त्री छिन् । उनको तर्फबाट एउटा छोरो छ । रञ्जितापछि रेशमले आशा चौधरीसँग दोस्रो बिहे गरे । उनीतर्फबाट एउटी छोरी छिन् । बहुविवाह गरेको भन्दै अदालतमा कसैले उनीविरुद्ध मुद्दा हालेमा यसमा पनि उनलाई सजाय हुने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *