भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले के भने नेपालबारे ?
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल भारतका सबै समस्या समाधान गरिने बताएका छन् । लामो समयदेखि कायम रहेको सीमा विवाद पनि समाधान गर्ने बताएका मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको पार्टनरशीप सुपरहिट बनाउने दाबी गरे । उनले आफू प्रधानमन्त्री भएको नौ वर्षमा समयमा भएका उपलब्धिका वर्णन गर्न लाग्ने हो भने पूरै दिन बित्ने पनि बताए ।
‘भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो छ र धेरै मजबुद छ । यो सुन्दर कडीलाई थप बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चय गरेका छौं कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा गति ल्याउनुपर्छ । हामी आफ्नो सम्बन्धलाई हिमालयजति उचाइ दिनका लागि काम गरिरहन्छौं र यसै भावनाअनुसार सबै मुद्दाको, चाहे सीमाको होस् या कुनै अरु विषय, सबैको समाधान गर्नेछौं,’ मोदीले भने ।
यस्तो छ मोदीले गरेको सम्बोधन
मलाई सम्झना छ, नौ वर्ष पहिले २०१४ मा कार्यभार सम्हालेको तीन महिनाभित्र मैले नेपालको आफ्नो पहिलो यात्रा गरेको थिएँ । त्यस समय मैले भारत नेपाल सम्बन्धका लागि एक हिट फर्मूला, एचआईपी दिएको थिएँ । हाइवेज, आइवेज र ट्रान्सवेज । मैले भनेको थिएँ, भारत र नेपालबीच यस्तो सम्बन्ध स्थापित गरिनेछ कि हाम्रो बोर्डर हामीबीच बेरियर नबनोस् ।
ट्रकको ठाउँमा पाइपलाइनबाट तेलको निर्यात हुनुपर्छ । साझा नदीमाथि ब्रिज बनाउनुपर्छ । नेपालबाट भारतमा बिजुली निर्यातका लागि सुविधा बनाउनुपर्छ । आज नौ बर्षपछि मलाई यो बताइरहँदा खुशी छ कि हाम्रो पार्टनरशीप बकाइदा हिट छ ।
पछिल्लो नौ वर्षमा हामीले अनेक क्षेत्रमा कैयौं उपलब्धि हासिल गर्यौं ।
वीरगञ्जमा नेपालको पहिलो आइसीपी बन्यो । भारत नेपालको क्षेत्रको हाम्रो पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन बन्यो । हाम्रोबीचमा ब्रोडगेज रेल्वे लाइन स्थापित भयो । सीमानामा ट्रान्समिसन लाइन निर्माण भयो । अब हामी नेपालबाट ४५० मेगावाट बिजुली आयात गर्छौं । यी नौ वर्षका उपलब्धिका वर्णन गर्न लाग्ने हो भने पूरै दिन बित्छ ।
आज मैले र प्रधानमन्त्री प्रचण्डजीले भविष्यमा आफ्नो पार्टनरशीपलाई सुपरहिट बनाउनका लागि धेरै महत्वपूर्ण निर्णय लिएका छौं । आज ट्रान्जिट एग्रिमेन्ट सम्पन्न गरिएको छ । यसमा नेपालका मानिसका लागि नयाँ रेल्वेका साथ भारतको इनल्याण्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको छ । हामीले नयाँ रेल लिंक स्थापित गरेर फिजिकल कनेक्टिभिटी बढाउने निर्णय लिएका छौं । साथसाथ भारतीय रेल संस्थानले नेपालका रेलकर्मीलाई प्रशिक्षण प्रदान गर्ने पनि निर्णय लिइएको छ ।
नेपालको सुदूरपश्चिमी क्षेत्रदेखि कनेक्टिभिटीलाई बढावा दिनका लागि सिर्सा र झुलाघाटमा दुईवटा अरु पुल बनाइनेछ । क्रस बोर्डर डिजिटल पेमेन्टका लागि यसको माध्यमबाट फाइनान्सियल केनेक्टिभिटीमा उठाइएको कदमको स्वागत गर्दछौं । यसका अलावा हजारौं विद्यार्थी र तीर्थयात्री र टुरिस्टका साथसाथै मेडिटल उपचारका लागि भारत आउने बिरामीलाई पनि (सहुलियत) मिल्नेछ ।
तीनवटा आइसीपीको निर्माणबाट आर्थिक कनेक्टिभिटी सुदृढ हुनेछ । पछिल्ला वर्षमा हामीले उर्जाको क्षेत्रमा सहयोगका लागि एक ल्याण्डमार्क भिजन डकुमेन्ट पठाएका थियौं । यसलाई अघि बढाउँदै आजभारत र नेपालका वीच दीर्घकालीन ऊर्जा सम्झौता सम्पन्न गरिएको छ । यस अन्तरगत हामीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट विजुली आयोग गर्ने लक्ष्य राखेका छौं । फुकोट कर्णली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताबाट विद्युत क्षेत्रमा सहयोगलाई थप बल मिलेको छ ।
मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सकारात्मक प्रभावलाई देखेर यस पाइपलाइनलाई चितवनसम्म लैजाने निर्णय लिइएको छ । यसको अलावा सिलिगुडीबाट पूर्वीनेपालको झापासम्म एउटा थप नयाँ पाइपलाइन पनि बनाइनेछ । साथै चितवन र झापामा नयाँ स्टोरेज टर्मिनल पनि लगाइनेछ । नेपालका एउटा रासायनिक मल कारखाना स्थापित गर्नका लागि आपसी सहयोगप्रति पनि हाम्रो सहमति भयो ।
भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध धेरै पुरानो छ र धेरै मजबुद छ । यो सुन्दर कडीलाई थप बलियो बनाउनका लागि प्रधानमन्त्री प्रचण्डजी र मैले निश्चय गरेका छौं कि रामायण सर्किटसँग सम्बन्धित परियोजनामा गति ल्याउनुपर्छ । हामी आफ्नो सम्बन्धलाई हिमालयजति उचाइ दिनका लागि काम गरिरहन्छौं र यसै भावनाअनुसार सबै मुद्दाको, चाहे सीमाको होस् या कुनै अरु विषय, सबैको समाधान गर्नेछौं ।
प्रधानमन्त्री प्रचण्डजी तपाई भोलि इन्दोर र धार्मिक शहर उज्जैनको यात्रा गर्नुहुनेछ । मलाई विश्वास छ कि तपाईको उज्जैन यात्रा ऊर्जामय हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरसम्मको यस यात्रामा तपाईलाई आध्यात्मिक अनुभूति पनि हुनेछ ।