भारतीय उद्योगी–व्यवसायीले नेपालमा खुलेर लगानी गर्नसक्छन् : प्रधानमन्त्री प्रचण्ड
एजेन्सी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा लगानी गर्न भारतका उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन् । बिहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको विजनेश समिटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
सरकारले नीतिगत तथा विविध विषयमा सहजीकरण गरेकाले प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रको साझा प्रयासबाट अगाडी बढ्न सक्ने भएकाले यसका लागि सरकार सधैँ तयार रहेको बताएका छन् ।
निजी क्षेत्रलाई बलियो र शक्तिशाली सहयोगीका रुपमा सरकारले चित्रण गर्दैसँगै साथमा लिएर जाने प्रतिबद्धता गरेको प्रधानमन्त्री प्रचण्डले बताएका छन् ।
नेपालको ऊर्जा, भौतिक पूर्वाधार, उत्पादनमूलक क्षेत्रमा लगानीका लागि आग्रह गरेका छन् ।
भारतीय कम्पनीको लगानी रहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना सफलरुपमा अन्तिम चरणमा पुग्न लागेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले पश्चिम सेती, सेती नदी (एसआर ६), तल्लो अरुणलगायतका आयोजनाले दुवै देशको अधिकतम हित गर्ने बताए ।
भारतीय समकक्षी नरेन्द्र मोदीसँग नेपालको बृहत्तर हितका विषयमा महत्वपूर्ण छलफल भएको र त्यसले सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको प्रधानमन्त्रीले बताएका छन् ।