चौधरी समूहको सिजी नेटको कारोबार आठ महिनामै ३२ करोड रुपैयाँभन्दा बढीको व्यापार
काठमाडौं । चौधरी समूहको इन्टरनेट सेवा प्रदायक सिजी कम्युनिकेसन्सको सिजी नेटले आठ महिनामै ३२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ। कम्पनीले २०२२।२३ को आठ महिनामा ३२ करोड २० लाख रुपैयाँको व्यापार (अपरिष्कृत) गरेको छ। २०२१।२२ मा कम्पनीले १५ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो। सन् २००३ मा एसटीएम टेलिकम संचार प्रालिको रुपमा ग्रामीण दूरसंचार सेवा दिने गरी स्थापना भएको थियो। पश्चिम नेपालका जिल्लाहरुमा सेवा दिने गरी कम्पनीले युनिफाइड लाइसेन्स पाउने प्रक्रियास्वरुप सेवा दिएको थियो।
सन् २०१३ मा चौधरी समूहले एसटीएम टेलिकम संचारलाई प्राप्ति गर्दै सिजी कम्युनिकेसन्स् प्रालिमा नाम परिवर्तन गरेको थियो। २०२१ मा कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। सिजीले अहिले देशका १७ जिल्लामा इन्टरनेट सेवा दिइरहेको छ। सिजी नेटले आइपी टीभी पनि उपलब्ध गराइरहेको छ। कम्पनीको अध्यक्ष निर्वाण चौधरी छन् भने कम्पनीको ९२ प्रतिशत शेयर स्वामित्व सिजी डिजीकम प्रालिको नाममा छ। नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार कम्पनीसँग ४६ हजार ७ सय २ फाइबर इन्टरनेट ग्राहक छन्। कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ गराएको छ। १५ करोड ६४ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि एनपी एल डबल बी र २ अर्ब ३४ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि एनपी एफोर रेटिङ दिएको छ।