भैसी चढेर आएको अभिव्यक्तिले सदनमा हंगामा, रवि लामिछानेले यसरी जनाए आपत्ति
काठमाडौं । प्रतिनिधिसभा बैठकमा सत्ता पक्ष र प्रतिपक्षी सांसदबीच होहल्ला भएको छ । रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हवाईजहाज चढेर पोखरा विमानस्थल ओर्लनु भयो होला भनेको त भैंसी चढेर आएको देखियो भनेपछि सत्ता र प्रतिपक्षका सांसदबीच होहल्ला भएको हो ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा १५ वटा मुर्रा प्रजातिका राँगा भारतले दिएको विषय चर्चामा थियो। त्यही विषयले संसद बैठकमा हंगामा भएको हो । सुरूमै संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले १५ राँगा भारतले दिने कुरा सात वर्षअघि नै उठेको उल्लेख गर्दै अहिले आफूलाई मानिसहरूले भैंसीमा चढेको देखाएको बताएका थिए। खनालले त्यसो भन्दा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए। त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले होहल्ला गरेका थिए।
विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले भैंसी चढेर आएको भन्ने शब्द संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । तर, रास्वपा सभापति रवि लामिछानेले प्रतिपक्षी सांसदले सदनमा बोलेको कुरा संसदको रेकर्डबाट हटाउन दिएको निर्देशनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीले नै बोलेको कुरा सदनको रेकर्डबाट हटाउनुपर्ने भन्दै सदनमा यो के मजाक हो भनेर प्रश्न सोधेका थिए ।
प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले मुर्रा राँगा ल्याउने सात वर्षअघिको समझदारी रहेको त्यही राँगा अहिले ल्याएको बताएका थिए ।