सामसङको नयाँ सर्भिस सेन्टर मध्यबानेश्वरमा
काठमाडौं । सामसङले काठमाडौंको मध्यबानेश्वरमा २१औं नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । । कम्पनीको नयाँ सर्भिस सेन्टर शुभारम्भ कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङजुन पार्क, निर्देशक प्रणयरत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आई एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरको समेत सहभागिता रहेको थियो ।
बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकका लागि निरन्तर रूपमा ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ काठमाडौं उपत्यका भित्र ५ र उपत्यका बाहिर १५ वटा गरी कुल २० वटा सर्भिस सेन्टरबाट सेवा प्रदान गर्दै आइरहेको कम्पनीको भनाइ छ । बानेश्वरमा शुभारम्भ गरिएको सर्भिस सेन्टरबाट पनि ग्राहकलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीले बताएको छ । यस सर्भिस सेन्टरबाट बानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कम्पनीले बताएको छ ।