बालेन भारतमै रहँदा मेयरको कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। दुई दिनअघि नै मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिए पनि बिहीबार मात्र मिडियामा सार्वजनिक भएको हो ।
काठमाडौं महानगरपालिकाका एक कर्मचारीले मेयर साह भारतको बैंगलोरमा भए पनि कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको जानकारी दिए । भारत जानुअघि बालेनले आफू आउनुअघि नै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न निर्देशन दिएअनुसार उनी बस्ने कुर्सी पछाडि नक्सा राखिएको छ ।
भारतले आफ्नो नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राखेको छ । जसमा नेपालको कपिलवस्तु, लुम्बिनी र विराटनगर समावेश छ । भारतले यसलाई सांस्कृति नक्सा भनेर जवाफ दिएको छ । तर नेपालसहित पाकिस्तान र बंगलादेशले पनि नक्साको विरोध गरेका छन् । नेपाल सरकारले औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरेको छैन ।
तर काठमाडौंका मेयर बालेन्द्र साहले भने सुरुमै आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् । धरानका मेयर हर्कराज साम्पाङ राईले पनि आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्ने घोषणा गरेका छन् ।
