विनोद चौधरीले भने– जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिन्छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले कहिल्यै पनि किसानलाई समयमै मल दिन नसकेको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले मलका विषयमा सबै सरकार असफल भएको बताए । उनले इलेभेन्थ आवरमा काम गर्ने प्रवृत्ति कायमै रहेको भन्दै असन्तुष्टि वयक्त गरे ।
‘किसानलाई कहिल्यै मलसम्म दिन सकेनौँ । जब धान रोप्न सुरु हुन्छ, सरकार रासायनिक मलको खोजीमा हतारिरहन्छ । जब पर्यो राति तब ताती बूढी भन्ने हाम्रो उखान नै छ,’ चौधरीले भने । यस्तो प्रवृत्तिले किसानको मुहारमा खुसी ल्याउन नसकिने उनले बताए ।
मल वितरणका लागि पेट्रोलमा जस्तै सरकारी तवरबाटै आपूर्तिको व्यवस्था किन गर्न सकिँदैन भन्दै उनले प्रश्न गरे । भारत र बंगलादेशबाट ग्यास पाइपलाइन ल्याएर रासायनिक मल कारखाना खोल्न सक्ने प्रस्ताव सरकारी निकायमा थन्किएर बसेको उनको भनाइ छ ।