संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा कसरी मुख देखाउनु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा राँगा र भैंसीकै कुरा गर्ने हो भने पाँच वर्षपछि जनतामा मुख देखाउन नसकिने बताएका छन् ।

बिहीबार बजेटमाथिको छलफलमा भाग लिँदै उनले संसदीय मर्यादामा आँच आउने गरी भएको बहसका लागि माफी मागेका छन् । उनले संसदीय मर्यादाको ख्याल गर्न सबैलाई आग्रह गरे ।

प्रतिनिधिसभाको जेठ २२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको विषयमा प्रश्न सोध्ने क्रममा रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री भारतबाट प्लेन चढेर पोखरा विमानस्थलमा अवतरण नगरी ‘प्रधानमन्त्री भैँसी चढेर पो आउनु भो’ भन्ने भनेका थिए ।

सभामुख देवराज घिमिरेले भैंसी चढेर भन्ने शब्द संसद्को रेकर्डबाट हटाउन लगाएका थिए । आफ्नो पार्टीका सांसदले बोलेका कुरा रेकर्डबाट हटाउने हो भने प्रधानमन्त्रीले बोलेका कुरा पनि हटाउनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका थिए । लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएका त्यस्ता अभिव्यक्तिका लागि माफी मागेका हुन्।

‘संसद्को मर्यादा राख्न चुकिरहेका त छैनौं ? यसमा ध्यानाकर्षण गराउन चाहन्छु । हामी नयाँ राजनीतिक दलका हिसाबमा चाहे ती हाम्रा पक्षबाट आएका विषय हुन् त्यसप्रति हामी कहीँ न कहीँ लज्जित भएका छौं,’ उनले भने, ‘यो सदन भैँसी, राँगाको विषयमा गफ गरेर पाँच वर्ष बिताउने हो भने हामीले गोबरबाहेक केही पनि प्राप्त गर्न सक्दैनौं ।

लामिछानेले संसदमा भइरहेका बहसले जनतामा राम्रो सन्देश नगएको पनि बताए । ‘बजेट र राष्ट्रका महत्त्वपूर्ण विषयमा कुरा गरिरहँदा, आमसर्वसाधारणमा संसद्‍बाट राम्रो सन्देश गएको छैन । म आफ्नो भागमा परेको जुन दुःख छ जिम्मेवार हुन चाहन्छु । केही दिनअघि भएका कुरा अमर्यादित भएकोमा क्षमा चाहन्छु,’ उनले भने । लामिछानेले आफ्नो पार्टी नागरिकता विधेयकको विपक्षमा नभएको स्पष्ट पार्दै विरोधमा रहेको भाष्य प्रमाणित गर्न लागिपरेको भन्दै दुःख व्यक्त गरे ।

उनले आफू नागरिकताविहीन हुनुपर्दा कस्तो पीडा भोग्नुपरेको थियो, त्यो महसुस भएको भन्दै नागरिकता विधेयक प्रमाणीकरण गर्नुअघि संसदमा आएको भए आफ्नोतर्फबाट सुझाव दिने काम हुने बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *