आईएमईको रेमिट्यान्स सचेतनका लागि प्रभातफेरी
काठमाडौं । आईएमई लिमिटेड २३ औं वर्षमा प्रवेश गरेको अवसरमा आईएमईले काठमाडौंमा रेमिट्यान्स सचेतनका लागि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीबाट सुरु भएको प्रभातफेरी लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन भएको थियो ।
प्रभातफेरीको शुभारम्भ आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए । सो क्रममा उनले सबैभन्दा धेरै रेमिटेन्स भित्रयाउने कम्पनी बनाउन सहयोग पुर्याउने सेवाग्राही, नियामक निकाय एवम् कर्मचारीहरुलाई विशेष धन्यवाद दिए । डिजिटल रेमिटेन्सको प्रवर्द्धन तथा रेमिट्यान्स गर्दा औपचारिक माध्यमको प्रयोगसम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको कम्पनीको भनाइ छ ।
प्रभातफेरीमा सुरक्षित रेमिट्यान्स, सुरक्षित भविष्य, रेमिट्यान्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौं लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४ सय भन्दा बढी कर्मचारीहरुको सभागिता रहेको थियो । प्रभातफेरिमा आईएमईका ब्राण्ड एम्बेसडर एवम् कलाकारहरू दिपकाराज गिरी र दिपाश्री निरौलाको पनि सहभागिता रहेको कम्पनीले जनाइएको छ ।