प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता, मंगलबारका लागि पेसी तोकियो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट आइतबार सर्वोच्च अदालतमा दर्ता भएको छ । यो रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । शुक्रवार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।

सोहीअनुसार पूर्वबालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाललगायतले दिएको रिट आज दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । रिटको पेसी मंगलवारका लागि तोकिएको छ । रिटमा माओवादीको दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाको योगदानको अवमूल्यन गरेको आरोप छ ।

रिट निवेदक विष्टले आफूहरूलाई द्वन्द्वकालमा प्रयोग भएका बाल सैनिकको पहिचान दिलाई क्षतिपूर्ति र परिपूरणका लागि आदेशको माग गरेका छन् । शान्ति प्रक्रिया ६ महिनाभित्रै टुंगो लगाउने भनिए पनि राजनीतिक नेतृत्वले चासो नदिई १७ वर्षसम्म झुलाएर राखेपछि यो विषय सर्वोच्चबाटै निरुपण हुनुपर्ने अवस्था आएको कानुन व्यवसायीहरूले बताउँदै आएका छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध दर्ता भइरहेका मुद्दा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी माओवादीको छ । तत्कालीन विद्रोही माओवादी मात्र हैन, अन्य राजनीतिक दलका नेता कार्यकर्तासमेत द्वन्द्वकालीन मुद्दासँग जोडिएका छन् । उनीहरूका मुद्दा फिर्ता लिने सरकारको निर्णय विवादमा पर्ने गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *