मेसी भित्र्याउन नसकेपछि नेइमारलाई फकाउदै अल हिलाल

काठमाडौं । लियोनेल मेसीलाई भित्र्याउन असफल भएपछि साउदी प्रो लिग क्लब अल हिलालको नजर अब नेइमारतर्फ रहेको छ । सीबीएस स्पोर्ट्सका अनुसार अल हिलालका प्रतिनिधिहरु अहिले नेइमारलाई साउदी भित्र्याउने प्रयासस्वरूप पेरिसमा रहेका छन् ।

अल हिलालले नेइमारलाई बम्पर अफर दिने तयारी समेत गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अल हिलालले मेसीलाई बार्षिक करिब ५०० मिलियन डलरको अफर दिएपनि मेसीले सो अफर अस्वीकार गर्दै अमेरिकी क्लब इन्टर मियामी गएका थिए ।

अब अल हिलालको मुख्य लगानीकर्ता कम्पनि पब्लिक इन्भेस्टमेन्ट फण्डले नेइमारलाई भित्र्याउने प्रयासमा लागेको बताइएको छ । अल हिलालले अल नासरसँग आफ्नो प्रतिद्वान्दिता बढाएर लिगलाई रोचक बनाउन पनि उच्च प्रोफाइलको खेलाडी खोजिरहेको छ । साउदी लिगको यस सिजनको च्याम्पियन अल इतिहादले करिम बेन्जमालाई भित्र्याइसकेको छ ।

३१ बर्षिय नेइमारको पिएसजीमा सम्बन्ध बिग्रिरहेको अवस्थामा उनले नयाँ प्रस्ताव बारे बिचार गर्छन् या गर्दैनन् त्यो भने स्पष्ट छैन । तर पिएसजीका फ्यानहरुको लगातारको विरोध र क्लब व्यवस्थापनले समेत नेइमार भित्र्याएको औचित्य पुरा नभएपछि उनलाई किनारा लगाउन गरिरहेको व्यबहारले पनि उनी राम्रो प्रस्ताव पाएमा क्लब छोड्न सक्ने बताइएको छ ।

यस अघि नेइमारलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड, न्यूक्यासल र चेल्सी जस्ता क्लबले चासो देखाएको बताइए पनि अहिले उनीहरुले नेइमारलाई भित्र्याउने बारेमा चासो नदेखाएको बुझिएको छ ।

लगातार फिटनेस राम्रो नभएपछि नेइमारले पिएसजीमा ६ सिजनमा औसतमा ३० खेल पनि खेल्न सकेका छैनन् । अझ लिग वानमा त झन उनको प्रति सिजन औसत खेल १८ खेल रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *