प्रतिनिधिसभामा भएका गतिविधिप्रति प्रधानमन्त्रीको टिप्पणी : अलोकतान्त्रिक र असभ्य हर्कत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा भएका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।
धनीराम पौडेल स्मृति दिवसका अवसरमा पार्टी कार्यालय कोटेश्वरस्थि पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले संसदमा आफू र सरकारविरुद्ध गरिएका टिप्पणीतर्फ संकेत गरेका हुन् ।
प्रतिपक्षी दलका सांसदले सदनमा आफूलाई गरेको कटाक्ष र सरकारको आलोचनाप्रति प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरे । संसदमा अलोकतान्त्रिक, निरंकुश र असभ्य हर्कत भएको दाहालको टिप्पणी छ ।
‘प्रतिनिधिसभामा जस्ता-जस्ता हर्कत र गतिविधि तपाईंहरुले पनि हेर्नु भयो होला, अहिलेसम्म नभएका,’ उनले भने, ‘लोकतन्त्र-लोकतन्त्र भन्नेहरु कति अलोकतान्त्रिक, निरंकुश, असभ्य र असंस्कृत छन् भन्ने कुरा पछिल्ला घटनाक्रमले राम्ररी देखिएको छ ।’
प्रधानमन्त्री दाहालले सरकारलाई अधिकतम् परिणाममुखी बनाउने प्रयास भएको दाबी गर्दै सुशासनविरुद्ध कुनै पनि सम्झौता नगर्ने बाचा गरे ।
वाम समाजवादी मोर्चाको अन्तिम तयारी भइरहेको पनि प्रधानमन्त्रीले दाबी गरे ।