वानएक्स बेट प्रकरण : पक्राउ परेका लाई तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
काठमाण्डौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार वानएक्स बेटको प्रचार गरे बापत पक्राउ परेका कलाकारहरूले ४० लाखसम्म लिएको खुलेको छ।
बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आठ जना कलाकारलाई पक्राउ गरेको थियो । जसले प्रतिबन्धित वानएक्स बेटिङ गर्न प्रचार गरेको आरोप छ। कार्यालयका प्रमुख एसएसपी मनोजकुमार केसीका अनुसार उनीहरूले रकम भ्युज, सब्सक्राइबरहरू अनुसार रकम पाउँथे।त्यसरी उनीहरूले ५ लाखदेखि ४० लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ‘उनीहरूलाई यहाँ लोकल एजेन्टहरूले विभिन्न माध्यमबाट सम्पर्क गर्ने गर्दा रहेछन्। त्यसपछि प्रचार गरिदिए बापत पैसा पठाइदिँदा रहेछन्, उनले भने,‘ कतिपयको सिधै खातामा आउने पनि देखियो, कतिपयलाई एजेन्टले दिने रहेछन् । वानएक्स बेटले कलाकार र धेरै सब्सक्राइबर भएका सेलिब्रिटी छान्नुको पनि कारण रहेको उनी बताउँछन्।
छोटो समयमा छिटो प्रभाव पार्न उनीहरूले कलाकारलाई प्रयोग गरेको प्रहरी बताउँछ। सेलिब्रेटी, धेरै मानिसले हेर्ने व्यक्तिहरूबाटै प्रचार भएपछि धेरै जना बेटिङमा प्रोत्साहन हुन्छन्,’ केसीले भने, ‘प्रभावकारी हुने हिसाबले कलाकारहरू र युट्युबरहरूलाई छान्ने गरेको देखियो।
प्रहरीले बेटिङको प्रचार गरेको आरोपमा गोरखा घर भई बनस्थलीले ३५ वर्षीय हाँस्य कलाकार बल्छी ध्रुबे मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय म्याकुरी पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने ‘राजुमास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर एलिश राईलाई पक्राउ गरेको छ। त्यस्तै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर जलन , मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा (जिडी), मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे (ढेडु बुढो) र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपाली पनि पक्राउ परेका छन्।
उनीहरूले आफ्नो युट्युब भिडिओमा प्रोमो कोडको प्रयोग गरी बेटिङ गर्न प्रचार गर्थे। उनीहरूको प्रोमो कोडको प्रयोग गरे छुट हुने बताएर बेटिङको प्रोत्साहन गरेको पाइएको प्रहरीले जनाएको छ। जसबापत उनीहरूले कमिसन लिएको अनुसन्धानबाट देखिएको प्रहरी बताउँछ ।
उनीहरूलाई काठमाडौं जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। लामो अनुसन्धानपछि यसरी समाजमा बेटिङ खेलाउनमा एजेन्टहरूको मात्रै नभएर प्रचारप्रसार गर्नेहरूको पनि उत्तिकै संलग्नता हुने गरेको भन्दै प्रहरीले कलाकारहरूलाई पनि पक्राउ गरेको हो । बुधबारमात्रै कार्यालयले पाँच जना एजेन्टहरूलाई पक्राउ गरेको थियो। एजेन्ट बनेर वानएक्स बेटिङ गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पाँच जनाले मात्रै ७४ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट खुलेको हो। प्रहरीले उनीहरूमाथि विस्तृत अनुसन्धान अघि बढाएको बताएको छ। एजेन्ट र प्रचार गर्ने कलाकारहरूलाई एउटै मुद्दामा आकर्षित गरी अनुसन्धान अघि बढाएको हो। यसमा जुवा खेल्न र खेलाउन नहुने कसुर, राष्ट्र बैंक ऐन, सम्पत्ति शुद्धीकरणको कसुरहरू पनि आकर्षित हुने प्रहरीले जनाएको छ।