नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण र टोबहादुरसहित १६ जनालाई सुन्धारा कारागार पठाउन आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालतले १६ जनालाई थुनामा पठाउन आदेश दिएको छ ।
उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ । यसअघि काठमाडौं परिसरसहित विभिन्न ठाउँमा राखिएको थियो ।
हाल न्यायिक हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी‚ पूर्वगृहमन्त्री बालकृष्ण खाण र बहालवाला सचिव टेकनारायण पाण्डे (हाल निलम्बित) सहित १६ जनालाई कारागार पठाउने जिल्ला प्रहरी परिसर काठमाडौंले प्रक्रिया थालेको हो । उनीहरू अहिले प्रहरी परिसर टेकु‚ प्रहरी वृत्त दरबारमार्ग‚ सिंहदरबार‚ कालिमाटी र सोह्रखुट्टेसहितका प्रहरी हिरासत कक्षमा छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले अदालतको आदेशसँगै पुर्पक्षका लागि थुनामा पठाउने सूचीका व्यक्तिलाई केन्द्रीय कारागार र डिल्लीबजार कारागार चलान गर्न आवश्यक कागजात मिलाउने क्रममा रहेको बताए । एसएसपी कार्कीका अनुसार आजै पुर्पक्ष गरिएका सबैलाई कारागार चलान गरिने उनले बताए ।
पक्राउ परेका अन्य दुई जना भने धरौटीमा रिहा भएका छन् । जसअनुसार लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुलाई १० लाख धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ।
यस्तै टोपबहादुर रायमाझी, बालकृष्ण खाणसहित अन्य १६ जना प्रतिवादी भने पुर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालतमा यो मुद्दामा ११ दिनसम्म लगातार थुनछेक बहस भएको थियो । कुल ३० जनाविरुद्ध मुद्दा चलाइएकामा १२ जना अझै फरार छन् ।