बालेनको चेतावनी बेवास्ता गर्दै हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शन
काठमाडौं । हिन्दी फिल्म ‘आदिपुरुष’ काठमाडौंका सिनेमा हलमा प्रदर्शनमा आएको छ । शुक्रबार बिहानका शो रद्द भए पनि मध्याह्नदेखि काठमाडौंका सबै सिंगल र मल्टिप्लेक्स सिनेमा हलमा ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ ।
चलचित्र संघको शुक्रबार बिहान बसेको बैठकले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले दिएको चेतावनी बेवास्ता गर्दै चलचित्र चलाउने निर्णय गरेको हो । बालेनले बिहीबार साँझ ‘आदिपुरुष’ मा समेटिएको ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवाद नहटाएसम्म काठमाडौंका हलमा फिल्म चल्न नदिने चेतावनी दिएका थिए । उनले तीन दिनभित्र सो संवाद नहटाए कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका थिए ।
चलचित्र संघले भने बालेनले दिएको चेतावनीबारे कुनै पनि आधिकारिक पत्र प्राप्त नआएकाले फिल्म निर्वाध रुपमा हलहरुमा प्रदर्शन गर्ने निर्णय गरेको छ । ‘आदिपुरुष’ मा उल्लेखित आपत्तिजनक संवाद हटाएर सेन्सर पास गरिएको छ । बिहीबार नै चलचित्र जाँस पास समितिले सिनेमालाई सेन्सर पासको पत्र दिइसकेको छ ।
टी–सिरिजको आधिकारिक युट्युब च्यानलमा रिलिज भएको ट्रेलरमा रामको भूमिकामा रहेका प्रभासले आफ्नो वानर सेनालाई सीतालाई हरण गरेर लगेका रावणसँगको युद्धका लागि प्रेरित गर्दै भनेका छन्, ‘आज मेरो लागि नलड्नु, त्यो दिनको लागि लड्नु जब भारतको कुनै छोरीमाथि हात हाल्नुभन्दा पहिले दुराचारी तिम्रो पौरुष याद गरेर काँप्नेछन् । लड्छौ ?’