सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ
काठमाण्डौ। अधिकतम बैंकिङ सेवा तथा सुविधाहरु डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सनराइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ। एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन्। बैंकले नवीनतम सेवासुविधा दिने उद्देश्यका साथ ग्राहकलाई बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको हो। यस सेवाअन्तर्गत ग्राहकले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केबल खाता नम्बरका आधारमा मेसिनबाट सोझै नगद जम्मा गर्न सक्नेछन् र त्यस्तो रकम तुरुन्तै ग्राहकको खातामा जम्मासमेत हुन्छ।
यसैगरीे कियोस्क मेसिनको प्रयोग गरी ग्राहकले कुनै पनि समयमा बैंक कर्मचारीको सहयोग बिनै आफै क्लियरिङ चेक जम्मा गर्न सक्नेछन्। चेकहरु ग्राहकहरुको आवश्यकता तथा छनौटअनुसार सामान्य वा एक्सप्रेस क्लियरिङ अन्तर्गत जम्मा हुनेछ। यसका साथै ग्राहकले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेन्ट र स्टेटमेन्ट प्रिन्ट पनि यसै कियोस्क मसिनबाट प्राप्त गर्न सक्नेछन्। बैंकले क्यास डिपोजिट मेसिन (सीडीएम) सेवा हालका लागि आफ्नो गैरीधारा शाखामा र क्यास डिपोजिट कियोस्क सेवा गैरीधारा तथा न्युरोड शाखामा सञ्चालनमा ल्याएको छ र यी सेवाहरुलाई निकट भविष्यमा अन्य शाखाहरुमा समेत विस्तार गर्ने योजना बनाएको छ।सनराइज बैंक सधैँ आधुनिक तथा नविनतम् सेवाहरु प्रदान गर्न अग्रसर रहेको छ। यस्ता नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नु पर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरुलाई सहज सुविधा पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले जानकारी दिए।