प्रचण्ड–माधवको समाजवादी मोर्चालाई काउन्टर दिन कांग्रेस–एमालेको ‘सत्ता मोर्चा’ को चर्चा

काठमाडौं । माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चा बनेको छ । आठदलीय सत्तारुढ गठबन्धन हुँदाहुँदै अर्को मोर्चा बनाएपछि अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको व्यापक आलोचना भइरहेको छ । कसैले पनि समाजवादी मोर्चा गठन भएकोलाई राम्रो भनेका छैनन् । सबैले प्रचण्डले प्रधानमन्त्रीको कुर्सी जोगाउन मोर्चा गठन गरेको विश्लेषण गरेका छन् । तर मोर्चा एक वर्षभन्दा बढी समय नटिक्ने अनुमान र भविष्यवाणी गर्न थालिएको छ ।

जन्मिँदै विवादमा परेकाले पनि समाजवादी मोर्चाको भविष्य लामो समय नरहेकोमा चार दलकै नेताहरु पनि सहमत छन् । समाजवादी मोर्चा गठन साढेसाती शनि दसामा परेको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन् । अधिकमास परेको वर्ष नेपाली राजनीतिमा सत्ता परिवर्तनको योग पर्ने गरेको भन्दै यस वर्ष पनि साउनमा अधिकमास परेकाले सत्ता परिवर्तन वा राजनीतिक दुर्घटना हुन सक्ने उनको भविष्यवाणी छ । ०७७ असोज महिनामा अधिकमास परेको थियो, लगत्तै पुस महिनामा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेका थिए । प्रचण्डको नक्षत्र सधैं विवादमा पर्ने रहेकाले उनको यो कार्यकाल पनि विवादै विवादमा बित्ने गरेको देखिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा विदेशमा रहेकै बेला प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चा गरेपछि अब समीकरण फेरिने अनुमान गर्न थालिएको छ । कांग्रेसले अहिलेसम्म समाजवादी मोर्चाबारे कुनै टिप्पणी गरेको छैन । कुनै पनि नेताले मोर्चाबारे बोलेका छैनन् । पार्टी सभापति देउवा बुधबार फर्केपछि मात्रै कांग्रेसले आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । तर अहिले एमालेको एउटा पक्ष प्रचण्ड र माधव नेपाललाई काउन्टर दिन कांग्रेस–एमालेको सत्ता मोर्चा बन्न सक्ने बताउन थालेका छन् । देउवा सिंगापुरबाट फर्किएलगत्तै नयाँ सत्ता मोर्चाबारे छलफल अघि बढ्ने प्रचार गर्न थालिएको छ ।

कांग्रेसले अहिलेको गठबन्धनलाई पाँचै वर्ष टिकाउने निर्णय गरेको थियो । तर अस्थिर प्रचण्डका कारण त्यस्तो सम्भावना टर्दै गएको छ । माओवादी, जसपा र एकीकृत समाजवादीसँग डेढ वर्षअघिकै गठबन्धन बनेपछि कांग्रेस महामन्त्री गगन थापाले टिप्पणी गर्दै भनेका थिए, ‘एमालेसँग २०८४ को निर्वाचनअघिसम्म सरकारमा भेट हुँदैन । त्यसपछि भने हुन सक्छ ।’ गगनको अभिव्यक्तिप्रति टिप्पणी गर्दै एमाले अध्यक्ष केपी ओलीले भनेका थिए, ‘२०८४ सम्म किन कुर्नुपर्ने ? अहिले पनि भेट हुन सक्छ ।’ राजनीतिक घटनाक्रम हेर्दा कतै कांग्रेस र एमालेबीच नयाँ मोर्चा बन्ने पो हो कि भन्ने त्रासमा प्रचण्ड, माधव नेपालका कार्यकर्ता देखिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *