कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार मसान्तभित्र बस्ने ,यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार मसान्तभित्र बस्ने भएको छ ।

कांग्रेसको यसअघि भदौ ५ गते केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । त्यसयता कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाटै सबै निर्णय गर्दै आएको छ ।

११ महिना हुन लाग्दा पनि केन्द्रीय समिति बैठक बस्न नसकेपछि केन्द्रीय सदस्यहरू रुष्ट भएका छन् । कांग्रेस विधानमै वर्षमा दुई चोटि केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । तर निर्वाचनलगायत विभिन्न राजनीतिक घटनाक्रमले बैठक पछि सर्दै आएको छ ।

मंसिरको निर्वाचनबारे समीक्षा गर्न भन्दै माघमा केन्द्रीय समिति बैठक बोलाउने तयारी थियो । तर त्यसबीचमा राष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता, उपनिर्वाचनको तयारीलगायत कारण देखाउँदै बैठक बस्न सकेको छैन ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले असार मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बस्ने जानकारी दिए । उनका अनुसार सो बैठकले भदौमा हुने नीति महाधिवेशनको मिति तोक्ने छ ।

कांग्रेसले अनौपचारिक रूपमा भदौमा नीति महाधिवेशन गर्ने भनेको छ । तर मिति भने तोकेको छैन । कांग्रेसका कार्यबाहक सभापतिसमेत रहेका खड्काले सोही बैठकले नीति महाधिवेशनको मिति तोक्नेछ । साथै, केन्द्रीय विभाग र भ्रातृसंगठनलाई पूर्णता दिने र सदस्यता मनोनीत गर्ने विषयमा छलफल हुने छ ।

कांग्रेसमा अहिले विशेष महाधिवेशनको माग उठ्दै आएको छ । तर पार्टी सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन नभई नीति महाधिवेशन गर्ने स्पष्ट सन्देश महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पठाइसकेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *