बालेनसँग असहमति जनाउँदै काठमाडौ महानगरकी शैक्षिक मामिला सल्लाहकार अर्यालले दिइन् राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । काठमाडौंका मेयर बालेन्द्र साह बालेनको गतिविधिप्रति असहमति जनाउँदै आफूले पदबाट राजीनामा दिएको उनले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मेयर बालेनका पछिल्ला एक्सन, निर्णय प्रक्रियालगायतका विषयमा आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् । एक वर्षअद्धि अर्याललाई बालेनले मेयर भएलगत्तै सल्लाहकार नियुक्त गरेका थिए । आफ्नो मर्म र भावनाविपरीतका शैक्षिक निर्णयहरु भएको भन्दै राजीनामा दिएकी अर्यालले कुन कुन निर्णय र के के कदमबारेमा आफ्नो विमति हो त्यसबारे केही खुलाएकी छैनन् ।
अर्याल टिच फर नेपालको संस्थापकसमेत हुन् । उनी यसअघि विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यसमेत थिइन्। सामाजिक अभियन्तासमेत रहेकी अर्याल टिच फर नेपालको संस्थापक बोर्ड सदस्य र पाँच वर्ष अध्यक्ष भइरहेकी छिन् ।
उनले कोलम्बिया विश्वविद्यालयको टिचर्स कलेजबाट शैक्षिक सुधारको लागि नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छिन् ।
महानगरका अनुसार सन् २०१७ मा शिक्षा क्षेत्रमा योगदान गरेबापत सिंगापुरको नेसनल इन्स्टिच्युट अफ एजुकेसनले अर्याललाई प्रतिष्ठित पुरस्कारबाट पुरस्कृत पनि गरेको थियो। उनी हवेली आउटडोर लर्निङ सेन्टरका संस्थापक निर्देशक पनि हुन्।
मेयरको शिक्षा सल्लाहकारबाट राजीनामा दिएकी अर्यालले आफ्नो पूरै जीवन जनताको शिक्षामै बिताउने उनले प्रण गरेकी छन् ।