योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने ः स्वास्थ्य मन्त्री


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्ने बताएका छन् । नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज काभ्रेको पनौती ५ चौकोट धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले निर्माण गरेको योग तथा प्राकृतिक चिकित्सालय भवन उद्घाटनका अवसरमा मन्त्री बस्नेतले अस्पतालमा हुने उपचार महंगो बन्दै गएको र नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था कमजोर बनेको भन्दै प्राकृतिक चिकित्सा पद्धति अगाल्न सुझाव दिएका हुन् । ‘अस्पतालमा उपचार जुनसुकै हिसाबले महङ्गो हुन थाल्यो, अब नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था छैन, सकेसम्म उपचार गर्न नपरोस् भनेर उपचारविधिमा भन्दा पनि रोकथाम विधिमा जोड दिनुपर्छ । अब योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अगाल्नुपर्छ मन्त्री बस्नेतले भने ।


उनले प्राकृतिक चिकित्सा शास्त्रले रोकथामको विधिलाई मद्दत गर्ने भएकाले सम्पूर्ण नेपालीलाई यसतर्फ ध्यान दिन आग्रह गरे । मन्त्री बस्नेतले आयुर्वेदको भण्डारमा बसेको तर यस क्षेत्रमा विकास गर्न नसकिएको भन्दै कस्तुरीले आफ्नै नाभीको बिना थाहा नपाएर बास्नाको खोजीमा भौँतारिए जस्तो भएको बताए । उनले भने, ‘स्वस्थ्यको पहिलो शर्त आफू निरोगी हुनुपर्छ, जोसुकैले दिनको एक घण्टा स्वास्थ्यका लागि छुट्याउनुपर्छ, म पनि दैनिक एक घण्टा नियमित व्यायम गर्छु, योगले नै सुर्तीजन्य पदार्थ खान हुन्न भन्ने सिकाउँछ, योगका लागि समय मात्रै दिए पुग्छ । मन्त्री बस्नेतले अस्पतालहरुले दश प्रतिशतलाई निःशुल्क उपचार प्रदान गर्ने व्यवस्था अनुगमन गरिरहेको बताए उनले धुलिखेलमा काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालका कारण बौद्धिक व्यक्तित्वको लस्कर देखिँदा खुसी लाग्ने गरेको स्मरण गर्दै धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बनाउने योजना बनाइने बताए। विश्वविद्यालयका उपकुलपति प्रा डा. भोला थापाले स्वास्थ्य र प्रविधि जोड्दै मानसिक,आध्यात्मिकरुपमा स्वस्थ गराउन चिकित्सा विज्ञानलाई सञ्चालनमा ल्याइएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *