कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट शुक्रबार स्वदेश फर्कने
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुरबाट शुक्रबार स्वदेश फर्कने भएका छन् ।
देउवाको निजी सचिवालयका अनुसार उनको स्वास्थ्यसम्बन्धी रिपोर्ट ढिला आएकाले फर्कन ढिलाइ भएको हो । गत जेठ ३० गते सिंगापुर गएका देउवा एक सातामा नेपाल फर्किने बताइएको थियो । तर आँखा र पेटसम्बन्धी रिपोर्ट आउन ढिलाइ भएकाले बसाई लम्बिएको हो । देउवाको सिंगापुर बसाई लम्बिएसँगै नेपाली राजनीतिमा अनेक अनुमान गरिएको छ । देउवाले त्यहाँ राजनीतिक भेटघाटलाई तीव्रता दिएको आशंका एमाले र माओवादीका नेताहरूले समेत गरेका छन् ।
तर कांग्रेस उच्च स्रोतका अनुसार देउवाको योपटकको सिंगापुर नितान्त व्यक्तिगत रहेको छ । उनी श्रीमती आरजु देउवासहित सिंगापुर गएका हुन् । आरजु आफैं पनि पाठेघरको समस्याबाट पीडित छिन् । त्यसैले देउवा दम्पतीको योपटकको विदेश यात्रा उपचारमा मात्र केन्द्रित भएको बताइन्छ ।