नेपाल नेदरल्याण्ड्ससँग हारेपछि विश्वकप छनोटबाट बाहिरियो


काठमाडौं । नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ र, विश्वकप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर हरारेमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो ।टिमको स्कोर ७ रन हुँदा ओपनर आशिफ शेखलाई शुन्यमै गुमाएको नेपालका लागि कुशल भुर्तेल र भीम सार्कीले दोस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । १४औं ओभरको पाँचौं बलमा भुर्तेल आउट भएपछि नेपालले निरन्तर विकेट गुमायो । नेपालको स्कोर ९५ रन हुँदा महत्वपूर्ण ५ विकेट गुमिसकेको थियो । त्यो बेलामा पनि दुई भरपर्दा ब्याट्सम्यान कप्तान रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरी क्रिजमा थिए । उनीहरुले पनि नेपालको पारी सम्हाल्न सकेनन् । रोहित ३१।५ र ऐरी ३३।५ ओभरमा आउट भए । गुल्सन झा र करण केसीले पनि टिकेर खेल्न सकेनन् । अन्तिम विकेटका रुपमा आउट भएका सन्दीप लामिछानेले रोहित ९३३० पछि सर्वाधिक २७ रन बनाए ।

कुशल भुर्तेलले २७, भीम सार्कीले २२ रन बनाउँदा गुल्सन झाले १५, दीपेन्द्र सिंह ऐरीले १५, कुशल मल्लले १२ रन बनाए । आरिफ शेख ६ र करण केसी मात्र १ रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका लोगन भान बेकले सर्वाधिक ४ विकेट लिए भने बास डे लिडल र विक्रमजित सिंहले समान २–२ विकेट हात पारे । १६८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २७।१ ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसको सुरुवात निकै राम्रो रह्यो । पावर प्लेमा विना विकेटको क्षतिमा ५८ रन बनाएको नेदरल्याण्ड्सका म्याक्स ओ’डाउडले १२औं ओभरको चौथो बलमा ललित राजवंशीलाई छक्का हान्दै अर्धशतक पूरा गरे । १३औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाए । उनले ३० रनमा क्रिजमा रहेका विक्रमजित सिंहलाई एलबीडब्लु धरापमा पारे, जतिबेला डच टिमको स्कोर ८६ रन थियो । १५औं ओभरको पाँचौं बलमा सन्दीपले नै दोस्रो विकेट लिए । वेस्ली बर्रेसी ३ रनमा आउट भए । तर क्रिजमा टिकिरहेका म्याक्सले बास डी लिडेसँग मिलेर टिमलाई जिततर्फ डोर्‍याए । बाससँग तेस्रो विकेटका लागि ६४ रनको साझेदारी गरेका म्याक्सवेललाई गुल्सन झाले २७औं ओभरको पहिलो बलमा बोल्ड गरे । ७५ बलको सामना गरेका उनले ८ चौका र चार छक्काको मदतमा ९० रन बनाए । बासले नयाँ ब्याट्सम्यान तेजा निदामानुसँग मिलेर नेदरल्याण्डलाई जित मात्र दिलाएनन्, सुपर सिक्समा पनि पुर्‍याए । यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ । अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *