नेपाल भारतसँग पराजित भएसँगै साफ च्याम्पियनसिपबाट बाहिरियो


बेंगुलुरु । नेपाल भारतसँग २ ० ले पराजित भएसँगै साफ च्याम्पियनसिपबाट बाहिरिएको छ । शनिबार बेंगलुरुस्थित श्री कान्तिराभा रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनील क्षेत्री र महेशसिंह नाओरेमले एक एक गोल गरे । पहिलो हाफमा भारतलाई रोक्न सफल नेपालले दुवै गोल दोस्रो हाफमा व्यहोरेको हो । खेलको ६२औँ मिनेटमा सुनीलले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए । ७०औँ मिनेटमा महेशसिंह नाओरेमले गोल गर्दै भारतलाई २–० को सहज अग्रतामा पुर्‍याएका थिए । भारतको यो जितसँगै कुवेत पनि समूह ‘ए’बाट सेमिफाइनलमा प्रवेश गर्‍यो । खेलमा नेपालले गोलका केही सुन्दर मौकाको सदुपयोग गर्न सकेन ।

आक्रमणको रणनीतिमा देखिएको नेपालले पहिलो हाफमा केही उत्कृष्ट ‘मुभ’ बनाउन सफल रह्यो । १८औँ मिनेटमा लाकेन लिम्बूले प्रहार गरेको कर्नर भारतीय रक्षकबाट हेडर क्लियर हुँदा एरिक विष्टले १८ यार्ड बक्सबाट गरेको भली भारतीय गोलकिपर गुरप्रित सिंहले मुस्किलले बचाए । ३४औँ मिनेटमा मनीष डाँगीले राइड साइटबाट निकालेको क्रसलाई विमल घर्तीमगरले नभेट्टाउँदा नेपालले गोलको अर्को सुनौलो मौका गुमायो । ३६औँ मिनेटमा मनीषले नै पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारले गुरप्रित सिंहलाई अफ्ठ्यारोमा पार्न सकेन । सनीष श्रेष्ठले ४४औँ मिनेटमा राइट साइडबाट गरेको क्रस आयुश घलानले नभेट्टाउँदा नेपालले अग्रताको अर्को सुनौलो मौका गुमायो ।

प्रतियोगितामा नेपाल पहिलो खेलमा कुवेतसँग ३–१ ले हारेको थियो । च्याम्पियनसिपमा योपटक दुई आमन्त्रित कुवेत र लेबनानसहित आठ टिमले प्रतिस्पर्धा गर्दैछन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा सात टिम रहे पनि योपटक फिफाको प्रतिबन्धका कारण श्रीलंका प्रतियोगितामा सहभागिताको अवसरबाट वञ्चित छ । सहभागी आठ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसँगै प्रतियोगिताको सर्वाधिक सफल तथा साविक विजेता भारत, पाकिस्तान र कुवेत छन् । समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् । नेपालले अन्तिम खेल पाकिस्तान खेल्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *