अन्ध समर्थक रास्वपालाई पर्दैछ भारी, रविले गरे शिष्ट बन्न अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिरको आमनिर्वाचन र वैशाखमा भएको उपनिर्वाचनमा पाएको सफलतापछि त्यसका समर्थक र कार्यकर्तालाई छोइनसक्नु भएको छ । रास्वपाका कार्यकर्ता २०६४ को माओवादी र २०७४ को एमालेका कार्यकर्ता जस्तै भएका छन्, छुन नसक्ने ।

रास्वपा र त्यो पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना र विरोध गरे मात्रै पनि कार्यकर्ता र समर्थक मौरी खनिएजसरी खनिन्छन् । त्यति मात्र होइन, उनीहरूले बोलेको र लेखेको सुन्नै नसकिने हुन्छ । तथानाम गाली गर्छन् । स्वदेश मात्र होइन, विदेशमा रहेकाको पनि अवस्था उस्तै हो । त्यसैले अहिले रास्वपालाई सोही पार्टीका अन्धभक्त समर्थक नै भारी पर्ने विश्लेषण हुन थालेको छ । सामाजिक सञ्जालमा त रास्वपाका समर्थक र कार्यकर्तासँग कुरै गर्न हुन्न । जाइलागिहाल्छन् । धेरैजना रास्वपाको समर्थक र कार्यकर्ताबाट अपमानित भएका छन् ।

यही तथ्य बुझेर अहिले रास्वपाका सभापति रवि लामिछानेले हात जोडेर आफ्ना कार्यकर्ता र समर्थकलाई शिष्ट भइदिन आग्रह गरेका छन् । उनले धेरै अशिष्ट र छाडा भएमा त्यसले पार्टी नेतृत्वलाई नै अप्ठेरो पर्ने निष्कर्ष निकालेका छन् ।

‘सामाजिक सञ्जालमा सभ्य र शिष्ट भइदिनुस्, म यो पनि तपाईहरुलाई भन्न चाहन्छु इमानमा रहुन्जेल बचाउनुपर्छ । मात्रै यति हो कि सभ्य र शिष्ट ढंगले बचाइदिनुभयो भने अहो रास्वपाका समर्थकहरु त कति शिष्ट भए भएछन्, पहिला त कस्तो थिए, अहिले त कति राम्रा भएछन् < आलोचना त गर्छन्, सुन्छन् । तर कति सभ्य र शिष्ट ढंगले गर्छन् भनेर भन्ने वातावरण पनि हामीले नै बनाउनुपर्नेछ,’ शनिबार आयोजित एक कार्यक्रममा रविले भने ।

रास्वपाका समर्थक र कार्यकर्तालाई अराजक र अशिष्ट बनाउने काम रविले नै गरेका हुन् । तर समाजमा पाच्य नहुने गरी आफ्ना कार्यकर्ता प्रस्तुत हुन थालेपछि रविले सम्झाउन बुझाउन लागिपरेका छन् । रविको यो आग्रहले उनका कार्यकर्ता र समर्थक सभ्य नभएको र अराजक बनेको पुष्टि हुन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *