‘आदिपुरुष’मा तथ्यगत त्रुटि छ : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतीय चलचित्र ‘आदिपुरुष’मा देवी सीताको बारेमा प्रयोग भएको संवादमा तथ्यगत त्रुटि देखिएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा मन्त्री साउदले सीता नेपालकी छोरी भएको तथ्य सर्वमान्य भएको र भारतमा समेत यो विषय निर्विवाद भएको बताए ।
यस्तै उनले भारतको संसद् भवनमा नेपाली भूमि समेटिएको नक्सा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदूतावासलाई निर्देशन दिएको बताए ।
विवादित नक्साबारे भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नयाँ दिल्लीस्थित नेपाली राजदूतलाई निर्देशन दिएको बताए । भारतका विदेशमन्त्रीले समेत नक्सा राजनीतिक विषय नभएको बताइसकेको उनको भनाई छ । मन्त्री साउदले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि भएको कुरामा सरकार दृढ रहेको बताए ।
देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता र अन्तर्राष्ट्रिय सीमामा कुनै आँच आउन नदिन र नेपालको एक इन्च जमिनपनि अतिक्रमण हुन नदिन सरकार प्रतिबद्ध रहेको उनको भनाई छ ।