सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतको आदेश
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको हो । पीडितको पक्षबाट पेस भएका अधिवक्ता शशि अधिकारीले अस्पतालको बिल भर्पाई र मनोवैज्ञानिकसमेतको बकपत्र गराएका थिए ।
अन्तरिम राहत माग गर्दै यसअघि पनि पीडित पक्षले निवेदन दायर गरेको थियो । उक्त निवेदन अदालतले मुख्य मुद्दामा अन्तिम सुनुवाइको मिति तोकिएको भन्दै निवेदन खारेज गरेको थियो । तर, अन्तिम सुनुवाइको मिति बारम्बार स्थगित हुँदा अन्तरिम क्षतिपूर्ति माग गर्दै पुनः पीडित पक्षले निवेदन दिएको थियो ।