एउटै मुद्दामा मिनबहादुर दुईचोटि किन पक्राउ परे ?
काठमाडौं । माओवादी शान्तिपूर्ण राजनीतिमा आएदेखि नै हो मिनबहादुर गुरुङको आर्थिक हैसियत बढेको छ । पूर्वप्रधानसेनापति छत्रबहादुर गुरुङका सम्धी मिनबहादुरले दश वर्षे कथित युद्धकालमा माओवादीले जम्मा गरेको पैसा चलाएर भाटभटेनी सुपरमार्केट खोलेको चर्चा चलेको थियो ।
मिनबहादुरको हाइट बढ्नुमा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भूमिका धेरै रहेको बताइन्छ । अहिले प्रचण्ड प्रधानमन्त्री भएकै बेला उनी पक्राउ पर्नुमा पहिलेकै हिसाबकिताब नमिलेको स्रोतले बतायो । मिनबहादुरलाई ललिता निवास जग्गा प्रकरणमा मंगलबार उनकै निवासबाट सीआईबीले पक्राउ गरेको हो ।
यसअघि पनि मिनबहादुर पक्राउ परेका थिए । ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जमिन हिनामिना प्रकरणमा मुछिएका गुरुङलाई यसअघि विशेष अदालतले धरौटीमा रिहा गरेको थियो । न्यायाधीशद्वय प्रेमबहादुर कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले गुरुङलाई २०७७ सालमा दुई करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अख्तियारले गुरुङसँग ५० करोड ४७ लाख रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको एक वर्षपछि उनी अदालतमा उपस्थित भएका थिए । सरकारी जग्गा हडप्नकै लागि गुरुङले भूमाफियाहरुसँग सम्पर्क बढाएर ललितानिवासको जमिन सस्तोमा किनेका थिए । गुरुङले त्यसलाई प्लटिङ गरी व्यापारिक घरानासहित विभिन्न व्यक्तिलाई बेचेका थिए ।
तीन वर्षभित्रै एउटै मुद्दामा फाइल खोलेर मिबहानदुरलाई पक्राउ गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री प्रचण्डसँगको हिसाबकिताब नमिलेकै कारण उनलाई पक्राउ गरिएको हुन सक्ने बताइन्छ । यो काण्डमा माधवकुमार नेपाल, बाबुराम भट्टराई, विष्णु पौडेललगायत जोडिएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भूमि सुधार तथा व्यवस्था विभाग र मालपोत कार्यालय डिल्लीबजारमा बसिसकेका तत्कालीन कर्मचारीहरूलाई पनि मंगलबार नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।