कानुनमन्त्री धनराज गुरुङको परीक्षा आज
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ कानुनमन्त्री छन् । उनकै पालामा सर्वोच्चका ६ स्थायी न्यायाधीशसहित उच्च र जिल्ला अदालतमा धेरै न्यायाधीशको नियुक्ति बुधबार गर्ने तयारी छ । त्यसका लागि न्यायपरिषदको बैठक बोलाइएको छ ।
न्यायपरिषदको अध्यक्षमा प्रधानन्यायाधीश रहनेछन् । कानुनमन्त्री पदेन सदस्य हुने व्यवस्था छ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश र कानुन व्यवसायीका तर्फबाट न्यायापरिषदमा गएका दुईजना सदस्य रहनेछन् ।
सम्भवतः प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकालको आज बस्ने न्यायपरिषद् बैठक नै अन्तिम हुन सक्छ । कार्कीले असार २० गतेदेखि आफूले दैनिक प्रशासनिक कामबाहेक इजलासमा नबस्ने बताइसकेका छन् । उनको कार्यकाल साउन १९ गते सकिँदैछ । त्यसैले आजको बैठकले उच्च अदालतमा २७ र सर्वोच्चमा ६ न्यायाधीश नियुक्त गर्न सक्ने बताइएको छ ।
सोमबार बसेको परिषद् बैठकमा पनि न्यायाधीश नियुक्ति हुन सकेको थिएन । भागबन्डाको राजनीतिले लामो समयदेखि न्यायाधीश नियुक्ति अवरुद्ध हुँदै आएको छ । परिषद्का अनुसार गत वर्ष साउनमा उच्चका २७ न्यायाधीशका लागि आवेदन आह्वान भएकोमा संक्षिप्त सूचीसमेत तयार भइसकेको छ । त्यसलाई अन्तिम रूप दिन बाँकी छ । सहमति जुटे सर्वोच्चमा पनि न्यायाधीश नियुक्तिको सिफारिस गर्ने तयारी छ । हाल सर्वोच्चमा ६ न्यायाधीशको दरबन्दी रिक्त छ । उच्चमा ४१ जना न्यायाधीशको पद रिक्त छ ।
पहिलोपटक परिषद्ले न्यायाधीश नियुक्तिको निर्देशिकाअनुसार उच्चको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाएको छ । त्यसमा अढाई सयभन्दा बढी इच्छुक देखिएका थिए । सूचीमा रहेकामध्ये अन्तिम सूची प्रकाशित भएको छैन । नेपाल बार एसोसिएसनले कानुन व्यवसायी पृष्ठभूमिबाट पनि न्यायाधीश नियुक्ति गर्न न्यायपरिषद्लाई स्मरण गराएको छ । पूर्वन्यायाधीश फोरमले पनि नियुक्तिमा राम्रा न्यायाधीश ल्याउन सुझाव दिएको छ ।
अहिले नियुक्त हुन लागेका न्यायाधीशहरू नै सर्वोच्चको भावी प्रधानन्यायाधीशको रोस्टरमा पर्ने भएकाले कानुनमन्त्री गुरुङले निष्पक्ष र स्वतन्त्र ढंगले न्यायालय चलाउन सक्ने व्यक्ति नियुक्त गर्ने धेरैको आशा छ । किनभने गुरुङ विवादमा नपरेका स्वच्छ कांग्रेस नेता हुन् ।