कांग्रेसका सांसद आफ्नै सभापति देउवालाई भेटेर गरे बजेटबारे गुनासो

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका ६ जना सांसदले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर बजेटबारे गुनासो गरेका छन् ।

प्रदेश सभा सदस्यहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने पार्टी सभापतिलाई बताएका छन् । कांग्रेस प्रदेश महामन्त्री मेघराज खड्काले बजेट असन्तुलित रहेको र बिचौलियाको प्रभावमा बनेकाले पास गर्न नसकिने प्रस्ट पारेका थिए ।
आफूसहित प्रत्यक्ष निर्वाचित ६ जना प्रदेश सभा सदस्यले पार्टी सभापति देउवासँग बजेट पारित गर्न नसकिने बताएपछि मुख्यमन्त्री कमलबहादुर शाह अप्ठेरोमा परेका छन् ।

एकीकृत समाजवादीका नरेशकुमार शाही आर्थिक मामिलामन्त्री छन् । देउवाले भने पूरक बजेट ल्याएर भए पनि असन्तुष्टि सम्बोधन गर्ने भन्दै बजेट पास गर्न आग्रह गरेका थिए । देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गरेर बजेटमा प्रदेश सभा सदस्यहरूको असन्तुष्टिबारे जानकारी गराएका थिए ।

प्रदेश सरकारले गत १ असारमा आगामी वर्षका लागि २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको थियो । बजेट सार्वजनिक भएलगत्तै प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बजेट जनविरोधी र कर्मकाण्डी भएको टिप्पणी गरेका थिए । आर्थिक मामिलामन्त्री शाहीले भने बजेट यथार्थपरक रहेको दाबी गरेका छन् ।

प्रतिपक्षीसँगै सत्तापक्षका प्रदेश सभा सदस्यसमेत बजेटको विपक्षमा देखिएपछि प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । बजेटमा बिचौलियाका योजनालाई प्राथमिकता दिएको तथा मुख्यमन्त्री र केही मन्त्रीका क्षेत्रमा मात्र केन्द्रित रहेको भन्दै सत्तापक्षका प्रदेश सभा सदस्यहरू यथास्थितिमा बजेट पास हुन नदिने अडानमा छन् ।

प्रक्रियागत रूपमा आएका योजनालाई ‘बाइपास’ गरिएको भन्दै प्रदेश सभा सदस्यले बजेट संशोधन हुनुपर्ने माग गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *