युवा होइन, वृद्ध नेता नै ओलीको प्राथमिकतामा
काठमाडौं । पार्टीमा युवा सहभागिता न्यून हुँदै गएको निष्कर्षसहित पारित वार्षिक कार्ययोजना कार्यान्वयन गराउन जेठ २३ मा एमाले अध्यक्ष केपी ओलीले अन्तरपार्टी निर्देशन (अपानि)जारी गरेका थिए ।
अन्तरपार्टी निर्देशनमा भदौदेखि सुरु हुने प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्मको अधिवेशनबाट सबै कमिटीमा ३५ वर्षमुनिका कम्तीमा एकतिहाइ युवालाई आरक्षण गर्ने, हरेक वडाबाट कम्तीमा १० जना प्रतिभाशाली क्षमतावान् युवा नेता उत्पादन गर्ने निर्णय कार्यान्वयन गराउन भनिएको छ ।
अपानि कार्यान्वयन गराउन एमालेका केन्द्रीय नेताहरू नयाँ जिम्मेवारीसहित प्रदेश र जिल्ला कमिटीको बैठकका लागि कार्यक्षेत्रमा व्यस्त छन् । तर कार्यकारी पदमा ७० वर्षे उमेरहद हटाइएको विषयले अहिले एमालेपंक्ति तरंगित छ । यहीवेला अध्यक्ष ओलीले कामलाई उमेरले नछेक्ने भन्दै सबैले काम र नेतृत्वमा प्रतिस्पर्धा गर्न पाउने गरी विधानको व्यवस्था हटाइएको प्रस्टीकरण दिएपछि त अब एमालेमा युवा नेतृत्व त धेरै टाढाको विषय बन्ने देखिएको छ ।
ओलीले पार्टी काम र आन्तरिक प्रतिस्पर्धा जितेर मात्र युवा पुस्ता जिम्मेवारीमा पुग्न सक्ने अभिव्यक्ति दिपछि एमालेको पछिल्लो नीति र निर्णय कार्यान्वयनमाथि शंका उब्जाएको छ । उनको अभिव्यक्ति र ७० वर्षे उमेरहद हटाउने निर्णयले वृद्ध नेताहरूलाई खुँदो पल्टिने भएको छ । ११औँ महाधिवेशनले उमेरहदको व्यवस्था हटायो भने एमालेको केन्द्रीय नेतृत्वमा खासै परिवर्तन हुनेछैन । दोस्रो कार्यकाल अध्यक्ष बनेका ७२ वर्षीय केपी ओलीलाई तेस्रोपटक अध्यक्ष बन्ने ढोका खुल्नेछ । यदि वामदेव गौतम एमाले प्रवेश गरे भने ७० वर्ष पार गरेका ६ जना पदाधिकारी अध्यक्षका प्रतिस्पर्धी बन्न सक्नेछन् ।
एमालेभित्र अहिले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (७०), उपाध्यक्षहरू सुवास नेम्वाङ (७१), अष्टलक्ष्मी शाक्य (७०), युवराज ज्ञवाली (७०) उमेरका छन् । ६८ वर्षीय उपाध्यक्ष रामबहादुर थापा बादल र ७० उमेर कटिसकेका मुकुन्द न्यौपाने पनि प्रतिस्पर्धी बन्न सक्नेछन् । एमालेमा फर्किने तयारीमा रहेका वामदेव गौतम ७४ वर्षका छन् । अर्को महाधिवेशनसम्म उनीहरू सबै झन्डै ८० वर्षको छेउछाउमा पुग्ने छन् ।
एमालेभित्र उपाध्यक्षद्वय विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा महासचिव शंकर पोखरेललाई भावी अध्यक्षका रूपमा हेरिएको छ । उपमहासचिवहरू प्रदीप ज्ञवाली (६१) पृथ्वीसुब्बा गुरुङ (६६० )र विष्णु रिमाल नै ६१ वर्षका भइसके। सचिवहरू योगेश भट्टराई (५७) गोकर्ण विष्ट (५८), रघुवीर महासेठ (६२) छविलाल विश्वकर्मा (६१) पद्मा अर्याल (५५) र लेखराज भट्ट (६४) वर्षका छन् । अर्को महाधिवेशनले उमेरहद हटाए भट्टराई, विष्ट, महासेठसहित महासचिव र उपाध्यक्षका दाबेदार सचिव तहका नेताहरूको नेतृत्व विकासमा समेत असर पर्नेछ । उनीहरूभन्दा युवा नेताको पालो कहिले आउने हो भन्ने ठेगान छैन । त्यसैले एमाले अर्को निर्वाचनका बेला वृद्ध पार्टीमा रुपान्तरण हुने सम्भावना धेरै छ ।