एनएलजी इन्स्योरेन्सले ६६ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ६६ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । नेपाल बीमा प्राधिकरणले तोकिएको पुँजी वृद्धि गर्नको लागि इन्स्योरेन्सलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । ‘एनएलजीलाई ६६ प्रतिशतसम्म हकप्रद सेयर जारी गर्न अनुमति दिएका हौं,’ प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले पनि कम्पनीको योजनाअनुसार नै हकप्रद सेयर जारी गर्न प्राधिकरणको स्वीकृति पाएको बताएका छन् । प्राधिकरणले कम्पनीहरुको पुँजी वृद्धि गराउने नीति लिएसँगै कम्पनीले हकप्रद मार्फत पुँजी बढाउने प्रस्ताव बीमा प्राधिकरणमा पेश गरेको थियो । जुन असार १८ गते मात्रै औपचारिक रुपमा पारित भएको छ । निर्जीवन बीमा व्यवसाय गर्दै आएको एनएलजी इन्स्योरेन्स नेशनल लाइफ इन्स्योरेन्सको सब्सिडायरी कम्पनी हो र कम्पनीको हालको सेयर संरचना साविकको बीमा समितिको ऐन तथा निर्देशन अनुसार नै भइरहेको छ ।
त्यसैले पनि प्राधिकरणले एनएलजीलाई हकप्रद सेयर मार्फत पुँजी बढाउनको लागि बाटो खुला गरिदिएको हो । प्राधिकरणले हालसम्म कुनै पनि कम्पनीलाई पुँजी बढाउनको लागि हकप्रद सेयर जारी गर्न अनुमति दिएको थिएन । हकप्रदमार्फत पुँजी बढाउन पाउने एनएलजी इन्स्योरेन्स नै पहिलो कम्पनी भएको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । प्राधिकरणले दिएको स्वीकृति अनुसार अर्थात ६६ प्रतिशत हकप्रद जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ४० करोड रुपैयाँ पुग्ने छ । जुन प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा कम हो । बाँकी अपुग पुँजी भने बोनस सेयर मार्फत पुर्याउने कम्पनीको योजना छ । प्राधिकरणको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्छ ।