एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा नेपाल

काठमाडौं । मलेसियामा चलिरहेको एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट फाइनलमा नेपाल पुगेको छ ।

बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु निरीह भए । सिंगापुर ३१.३ ओभरमा ८७ रनमा अलआउट भयो । नेपालका कात्तिक कामतले ३ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको थियो।

नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए । कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भएका थिए ।

नेपालले अब फाइनलमा भोलि मंगलबार घरेलु टोली मलेसियासँग खेल्ने छ । हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल भेट पक्का गरेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *