डबल रोल खेल्दै प्रचण्ड, कम्युनिस्टसँग एकता पनि गर्ने, कांग्रेससँग मिलेर सरकार चलाउने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोहोरो रोल खेल्न थालेका छन् । सरकारमा गएर अपेक्षित काम गर्न नसकेका प्रचण्ड चौतर्फी आलोचित बन्न थालेपछि सेफ ल्यान्डिङको तयारीमा जुटेका छन् । त्यसका लागि उनले सामाजिक मोर्चा हुँदै कम्युनिस्ट पार्टीबीच एकता गर्ने गृहकार्य थालेका छन् । आइतबार एक कार्यक्रममा उनले नेकपा विभाजनको समीक्षा गरौं भनेर बहस छेडिसकेका छन् ।

अर्कोतिर अहिलेकै गठबन्धनमा रहेर प्रधानमन्त्रीमा बसिरहेको दाउ उनले खेलेका छन् । यदि कांग्रेससँग सम्बन्ध बिग्रिनेवित्तिकै कम्युनिस्ट पार्टीसँग मिलेर सरकारमा टिकिरहन सकिन्छ कि भन्ने उनको भित्री चाहना रहेको सोमबार आयोजित एक कार्यक्रममा उनले खुलासा गरिसकेका छन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीहरूबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने बताए । उनले कम्युनिस्टहरूको एकताको कुराबाट कांग्रेस तरंगित हुन नपर्ने दाबी गरे । यसको मतलब फेरि वाम एकताको प्रयास भइरहेको उनले रहस्य खुलाएका छन् ।

विगतमा पनि कांग्रेससँग सरकारमा रहेकै बेला चुनावमा माओवादी एमालेबीच सहकार्य भएको थियो । पछि पार्टी नै एकता भएको थियो । त्यसबेलै प्रचण्डले कांग्रेसलाई ठूलो धोका दिएका थिए । अहिले फेरि उनले पहिलेकै इतिहास दोहोर्याउने संकेत गरेका छन् । ‘मैले लेफ्टहरूको युनिटीको कुरा गर्दा कांग्रेससँग डिसयुनिटी हुनेछैन,’ उनले भने, ‘विगतमा कांग्रेस र कम्युनिस्ट मिलेर लडेकाले हालसम्मको उपलब्धि हासिल भएको हो ।

कम्युनिस्ट एकताको कुराबाट कांग्रेस तरंगित हुन पर्ने छैन ।’देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर यसपालि आफू प्रधानमन्त्री बनेको प्रचण्डको भनाइ छ । ‘जनता र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर मलाई प्रधानमन्त्री बन्न लाग्यो। म नभई हुँदैन जस्तो लाग्यो यसपटक। जसरी भए पनि प्रधानमन्त्री हुनुप¥यो भनेर म भएरै छाडेँ,’ उनले भने।

विगतमा गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको उनले बताए । आफूले पटक–पटक गल्ती गर्दा पनि कोइरालाले भने विश्वास गर्दै संरक्षण गर्न नछाडेको उनले स्मरण गरे। त्यसैले अहिले पनि उनी सत्तामै बस्न बरु आफूले गल्ती गर्ने, कांग्रेसले कहिल्यै गल्ती नगर्नेमा विश्वस्त देखिएका छन् । तर यसपटक कांग्रेस पहिले जस्तो छैन भन्ने प्रचण्डले बुझेको देखिन्न ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *