प्रधानमन्त्री प्रचण्ड : गिरिजाबाबुकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइरालाकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताएका छन् ।

सोमबार स्व. कोइरालाको एक सयौं जन्मजयन्तीका अवसरमा आयोति कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोइरालामा भएको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको बताएका हुन् ।

‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटक पटक राजीनामा नदिन भन्नुहुन्थ्यो । उहाँमा भएको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको हो,’ उनले भने ।

शान्ति सम्झौता लगायतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै प्रचण्डले पहिलो भेटदेखि अन्तिम भेटसम्ममा आफूले गल्ती गरेको तर कोइरालाले गल्ती नगरेको बताए ।

‘मैले उहाँमा कुनै द्विधा, अविश्वास वा आशङ्का केहि देखिन । बरु मैले गल्ती गरेँ, उहाँले विल्कुल गल्ती गर्नुभएन । मैले बरु उहाँसँग लिएका प्रतिबद्धता सबै जस्ताको तस्तै मैले पुरा गर्न कतिपय सन्दर्भमा सकिनँ,’ उनले भने ।

शान्तिको रक्षा गर्ने कुरा, संविधानको रक्षा गर्ने कुरा र समग्र प्रक्रियाको रक्षा गर्ने कुरामा धेरै ठुलो दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिप्रसाद कोइराला भएको उनको भनाई थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *