बहस छाडेर विरोधमा उत्रिए कानुन व्यवसायी
काठमाडौं । ललितपुर जिल्ला अदालतका नासु र कानुन व्यवसायीबिच भएको विवादको विषयलाई लिएर देशभरका कानुन व्यावसायीहरु आन्दोलनमा उत्रिएका छन् ।
आसार १३ गते जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङमाथि हातपात गरेको आरोपमा अधिवक्ता अमिर लामिछाने पक्राउ परेका थिए । सोही घटनाको विरोधस्वरूप नेपाल बार एसोसिएसनले आज देशभर बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएका हुन् ।
उक्त घटनामा पक्राउ परेका अधिवक्ता लामिछाने आइतबार साधारण तारेखमा रिहा भइसकेका छन् । तर पनि कानुन व्यवसायीले घटनाको छानबिन हुनु पर्ने, दोषिलाई कारबाही गर्नु पर्ने र लामिछानेमाथि लगाइएको झुटो मुद्दा फिर्ता हुनु पर्ने माग राखेर प्रदर्शन गरेका छन् ।
ललितपुर बार एसोसिएसनले आयोजना गरेको विरोधसभामा अधिवक्ता लामिछानेले पनि सम्बोधन गर्ने जनाइएको छ ।
नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आइतबार तीन घण्टा काम नगरी विरोध जनाएका थिए ।