ललितपुर महानगरले घरमै पुगेर ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई उपचार गरिदिने
काठमाडौं । ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिहरुको उपचार घरमै पुगेर गरिदिने भएको छ । ज्येष्ठ नागरिक एवम् अपाङ्गता भएका व्यक्तिहरुको मुट, मिर्गौला, आँखा लगायतको परीक्षणका साथै विशिष्ट स्वास्थ्य सेवा घरमै पुगेर दिने व्यवस्था मिलाएको महानगरले जनाएको छ । ‘महानगरसँग ज्येष्ठ नागरिक’ कार्यक्रममार्फत घर घरमा गएर ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण लगायत आवश्यकता अनुसार आधारभूत औषधि पनि निःशुल्क उपलब्ध गराइने महानगरले जनाएको छ । जसका लागि महानगरले नेपाल हृदय रोग निवारण र नेपाल नेत्र ज्योति संघ (कीर्तिपुर आँखा अस्पताल)सँग समझदारी गरेको छ ।
समझदारीपत्रमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल हृदय रोग निवारण प्रतिष्ठानका अध्यक्ष बलराम न्यौपाने र नेपाल नेत्र ज्योती संघका अध्यक्ष भरतबहादुर चन्दले हस्ताक्षर गरेका छन् । यस्तै मिर्गौला सम्बन्धी रोगको उपचार गर्ने सम्बन्धमा मेडिसिटी अस्पताल , मिर्गौला बचाउ अभियान र ललितपुर महानगरबीच समझदारी भएको महानगरले जनाएको छ । महानगरका प्रमुख महर्जन, मेडिसिटीका मेसुराज राणा, अभियानका ऋषिराम काफ्लेले त्रिपक्षीय गरेका हुन । महानगरका ज्येष्ठ नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकाले महानगरको तर्फबाट कुनै कसर बाँकी नराख्ने महर्जनले बताए ।