एभरेष्ट बैंकद्वारा समता स्कुललाई आर्थिक सहयोग
काठमाण्डौं । एभरेष्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवीप्रकोप व्यवस्थापन, वातावरण संरक्षण, संस्कृतिक प्रवद्र्धन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिक रुपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षण सम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । बैंकले विरगञ्ज कारागार परिसरमा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीबन्दीसंग बस्दै आएका उनीहरुका छोराछोरीलाई विद्यालय शिक्षा उपलब्ध गराउने पवित्र उद्देश्यका साथ विरगञ्ज कारागार परिसरमा समता शैक्षिक गुठी नेपालले सञ्चालन गरिरहेको प्राथमिकतहको विद्यालयलाई भवनको मर्मत सम्भार तथा रंगरोगन प्रयोजनको लागि रु. २ लाख आर्थिक सहयोग गरेको छ ।
विद्यालय परिसरमा आयोजित एक समारोहका बिच बैंकका मधेश प्रदेशका प्रादेशिक प्रबन्धक विभूति न्यौपानेले सो विद्यालयकी प्रधानाध्यापक अनामिका मिश्रालाई उल्लेखित रकमको चेक हस्तान्तरण गरेका छन् । यसबाट कैदीबन्दीका छोराछोरीहरुलाई विद्यालय शिक्षा हासिल गर्न र विद्यालयको पठनपाठनमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै प्रधानाध्यापक मिश्राले एभरेष्ट बैंकको सो सहयोगले कैदीबन्दीका छोराछोरीहरुको शिक्षादिक्षामा थप सहज हुने र सो विद्यालय विरगञ्ज क्षेत्रकै साझा सम्पती भएकाले सबैले यसलाई जगेर्ना गर्नु पर्ने कुरा उल्लेख गर्नुभयो ।