प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेस अझै प्रतिक्रियाविहीन, एमाले आक्रोशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटकपटक नयाँदिल्ली पुगेको भन्ने अभिव्यक्ति विवादमा परेको छ । प्रतिनिधिसभाको बहुमत सदस्यले प्रधानमन्त्री चयन गर्ने भए पनि प्रचण्डले नयाँदिल्लीले प्रधानमन्त्री नियुक्त गर्ने जसरी अभिव्यक्ति दिएपछि उनी प्रचण्ड संकटमा पर्ने देखिएको छ ।

सत्तारुढ नेपाली कांग्रेसले अझैसम्म प्रचण्डको अभिव्यक्तिबारे कुनै प्रतिक्रिया जनाएको छैन । यद्यपि कांग्रेसको शीर्ष नेताको बैठक बुधबार बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सम्मिलित बैठक बस्ने भएको हो ।

बिहीबार बोलाइएको जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत हुने एजेन्डाबारे छलफल गर्न बैठक बस्ने भए पनि त्यसमा प्रचण्डको अभिव्यक्तिबारे समीक्षा गरिने भएको छ । स्रोतका अनुसार सम्भवतः आजै कांग्रेसले प्रचण्डको अभिव्यक्तिबारे आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

संसदको प्रमुख प्रतिपक्षी दल एमाले भने आक्रोशित भएको छ । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत यसको विरोध गरेका छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले यो विषय उठान गरेका थिए । एमालेले प्रचण्डको अभिव्यक्तिका विषयमा छलफल गरी औपचारिक धारणा सार्वजनिक गर्न संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १.३० बजे सिंहदरबारमा एमाले दलको बैठक बस्ने भएको छ ।

भारतको जम्मुकश्मीरबाट नेपाल आई व्यवसाय थालेका सरदार प्रितम सिंहको पुस्तक विमोचन क्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटकपटक दिल्ली गएको खुलाएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *