धरानका मेयर हर्कलाई भेटेपछि एलिजाले सक्रिय राजनीति छाडिन्

काठमाडौं । पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतमले सक्रिय राजनीति छाडेकी छन् । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईलाई भेटेपछि उनले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी हुन् ।

पाँच महिनाअघि उनी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । सो पार्टीको संरक्षक रेशमलाल चौधरी हुन् । टीकापुर हत्याकाण्डमा जेल सजाय भुक्तान गरिरहेका चौधरीलाई रिहा नगरे देशभर आगो बाल्ने अभिव्यक्ति दिएर एलिजा चर्चामा आएकी थिइन् । मोडल तथा अभिनेत्री गौतमले अब आफू समाजसेवामै लागिरहने घोषणा गरेकी छन् ।

‘धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित छु । उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ ।

म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ,’ उनले लेखेकी छन्, ‘श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरुले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु ।

दलको सक्रिय राजनीति गर्नेहरुलाई एकचोटि धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *