प्रचण्डलाई बोक्ने यो नै अन्तिमपटक, आफ्नै पार्टीबाट घेराबन्दीमा

काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले प्रधानमन्त्री छन् । केही समय उनी प्रधानमन्त्रीमै रहने छन् । तर प्रधानमन्त्रीबाट बाहिरिएको भोलिपल्टदेखि उनको अवस्था निकै नाजुक हुने संकेत देखिन थालेका छन् ।

यतिबेला माओवादीभित्र तीव्र किसिमको उथलपुथल मच्चिन खोजेको छ । तर प्रकट हुन सकेको छैन । सरकार गठन र त्यहाँ पाउने नियुक्तिप्रति धेरैले आक्रोश व्यक्त गरिरहेका छन् । छोरी, ज्वाइँ, बुहारी, भाइभतिजालाई नियुक्ति दिँदादिँदै प्रचण्डले पार्टीको साख सखाप पारेको भन्दै विद्रोह उठ्न लागेको छ ।

अहिले प्रचण्डसँग वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेतको राम्रो सम्बन्ध छैन । नारायणकाजी श्रेष्ठलाई बोकेर हिँडेकाले पनि हार्डकोर माओवादी असन्तुष्ट बनेका हुन् । हिजो १० वर्षे जनयुद्धकालमा दुःख गर्ने अहिले खाडीमा पसिना बगाइरहेको तर अस्ति भर्खर माओवादी प्रवेश गरेका नारायणकाजीले ‘तर’ मान थालेपछि पार्टीमा विद्रोह हुने खतरा देखिएको छ ।
कोसीमा प्रचण्डले आफ्ना ज्वाइँ जीवन आचार्यलाई पटकपटक मन्त्री बनाएपछि धेरैले चित्त दुखाएका छन् । यो विषय अहिले माओवादीमा तीव्र रूपमा उठेको छ । प्रचण्ड स्वयंले आफूलाई घेराबन्दीमा पार्न खोजेको सार्वजनिक गरिसकेका छन् ।

पुन, शर्मा र बस्नेतले सरकारको कामलाई सहयोग नगरेको उनलेको दुखेसो छ । जुन आइतबार अखिल क्रान्तिकारीको भेलामा पुन र शर्माले सार्वजनिक गरेका थिए । प्रचण्डले शर्मा, पुन र बस्नेतलाई ठेगान लगाउन नेत्रविक्रम चन्द विप्लवलाई बोकेपछि यो विषयले ठूलो रूप लिने देखिएको छ ।

विप्लवलाई महासचिव बनाउन प्रचण्डले आफूहरूलाई कर्नरमा पार्न खोजेको महसुुस पुन, शर्मा र बस्नेतले गरिसकेका छन् । यदि प्रचण्ड अहिलेकै अवस्थामा अगाडि बढेमा भोलिका दिनमा उनलाई पार्टीमै चल्न नदिने वातावरण नबन्ला भन्न सकिन्न । अहिलेको पो प्रचण्डलाई कांग्रेस, एकीकृत समाजवादीले बोकेका छन् ।

हिजो एमालेलगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको यो नै सरकारको नेतृत्व गर्ने अन्तिम अवसर भएको विश्लेषण हुन थालेको छ । तीन–तीनपटक प्रधानमन्त्री हुँदा पनि प्रचण्डले कुनै उल्लेख्य काम भने देखाउन सकेका छैनन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *