एसईई पछि कुन विषय पढ्दा करिअर बन्छ ?


काठमाडौं । एसईई पछिको पढाइलाई विद्यार्थीको करिअर निर्माणको शुरुवातको रुपमा लिने गरिन्छ । कक्षा १० सम्मको पढाईमा विद्यार्थीहरुले धेरै अनिवार्य विषय पढ्नुपर्ने हुन्छ भने सिमित विषय मात्रै ऐच्छिक रुपमा पढ्न पाएका हुन्छन् । कक्षा ११ र १२ मा भने विद्यार्थीहरुले अनिवार्य शिक्षा भन्दा धेरै आफूले रोजेको विषय पढ्न पाउँछन् । केही दशक यता डिग्री हासिल गरेका लाखौं विद्यार्थीहरु देशभित्रै स्वरोजगार हुन नसक्ने र रोजगार पनि प्राप्त गर्न नसक्ने समस्या फराकिलो दरमा वृद्धि हुँदै गएको छ । पछिल्लो केही वर्ष यता पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को लागि ९३ वटा विषयको विकास गरेको छ । विद्यार्थीहरुका लागि छनोट गरेर अध्ययन गर्न धेरै विषयहरु भएपनि उनीहरुले कुन विषय पढ्दा करिअर छिटो बन्छ वा पढेको विषयलाई आफ्नो जीवन, परिवार र समाजको लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने कुरालाई भने ध्यान दिएर विषय छनोट गर्नुपर्छ । पछिल्लो समय नेपालमा डाक्टर, इन्जिनियर, पाइलट, कृषि लगायत प्राविधिक विषय अध्ययन गरेका धेरै विद्यार्थीहरुपनि देशभित्रै स्वरोजगार नबन्ने र रोजगारका लागि विदेशीने गरेको पाइन्छ । तर, स्वदेश वा विदेशमा प्राविधिक रुपमा क्षमतावान भएका व्यक्तिहरु नै स्वरोजगार हुन सकेको वा रोजगार पाउन सकेको देखिन्छ । अन्यथा भाषिक विषय मात्रै पढेका विद्यार्थीहरुले स्वरोजगार वा रोजगारको लागि पनि पुनः प्राविधिक तालिम लिनुपर्ने हुन्छ ।

गण्डकी बहुप्राविधिक शिक्षालय पोखराका निर्देशक लक्ष्मण तिमिल्सिनाले प्राविधिक शिक्षा भनेको मानिसले आफ्नो शारीरिक क्षमता हुने बेलासम्म प्रयोग गर्न सकिने तथा स्वरोजगार र रोजगारको हिसाबले पनि प्रभावकारी रहेको बताउँछन् । सैद्धान्तिक विषय पढेका विद्यार्थीहरु धेरै पढेर पनि बेरोजगार भएको तर, प्राविधिक शिक्षा पढेका विद्यार्थीहरुमा त्यस्तो समस्या नदेखिएको उनको भनाइ छ । ‘प्राविधिक शिक्षा पढेकाहरु कहिल्यै रिटायर्ड हुँदैनन्, सक्रिय जीवनसम्म उनीहरुले काम गर्न पाउँछन्, तर, साधारण विषय पढेकाहरुले निश्चित समय जागिर खान्छन् अनि रिटायर्र्ड हुन्छन् । आफूले चाहेको बेलामा सिपको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सकिने शिक्षा प्राविधिक शिक्षा भएको उनको भनाइ छ । सैद्धान्तिक विषयमा धेरै पढेका व्यक्तिहरुले रोजगार नपाइरहेको अहिलेको अवस्थामा प्राविधिक शिक्षा लिएका विद्यार्थीहरु भने खाली बस्न नपरेकोको कारणले उनीहरुमा खुसीको अवस्था पनि तुलनात्मक रुपमा राम्रो भएको निर्देशक लामिछाने बताउँछन् ।

राम्रोसँग विषय छनोट गरेर पढ्न सक्दा अहिले नेपालमा भएका प्राविधिक शिक्षा पढेपछि नेपालमा नै स्वरोजगार हुन वा रोजगार प्राप्त गर्न समस्या नभएको उनको भनाइ छ । आर्थिक विकासको दृष्टिकोणबाट हेर्दा पनि नेपाल एउटा विकासोन्मुख मुलुक हो । साढे तीन दशक यताको मुलुकको अवस्था हेर्ने हो भने नेपाल धेरै वस्तुहरुमा परानिर्भर बन्दै गइरहेको छ । परानिर्भरताको दर घट्ने भन्दा पनि थप बढ्ने क्रम जारी छ । शिक्षा मन्त्रालयले २०७६ सालमा गरेको जनशक्ति प्रक्षेपण सम्बन्धी अध्ययनले वि.सं. २१०० सालसम्म कृषि क्षेत्रमा ७६ लाख ६१ हजार ७ सय ४७ र उद्योगमा ५५ लाख ३० हजार ५ सय ९० जना जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरेको छ । त्यस्तै विश्वबजारमा पनि दिन प्रतिदिन जनशक्तिको अभाव बढीरहेको तथ्यांकहरुले देखाएका छन् । विशेषगरी, कृषि, उद्योग, विज्ञान तथा प्रविधि, चिकित्सा, इन्जिनियर, लगायतका प्राविधिक क्षेत्रसँग सम्बन्धित विषय पढ्दा बेरोजगार पनि बन्न नपर्ने र पढाइ सकिएपछि व्यवसायिक करिअरको पनि शुरुवातको शुनिश्चित हुने देखिन्छ ।
त्यसैले, एसईई उत्तिर्ण गरेका विद्यार्थीहरुले उच्च प्राविधिक शिक्षा उन्मुख विषयहरु नै रोजेर अध्ययन गर्दा सैद्धान्तिक विषयको तुलनामा उत्तम हुने विज्ञहरुको सुझाव छ । शिक्षा क्षेत्रका अभियन्ता तथा युवा राजनीतिकर्मी मिलन पाण्डेले कामसँग जोडिएका धेरै विषय भएको भन्दै औसत भन्दा राम्रो करिअर बनाउने हो भने ग्राफ खिचेर पढ्न विद्यार्थीहरुलाई सुझाव दिन्छन् । ‘पाँचवर्ष र सातवर्षमा के–के विधाको विकास हुनुपर्छ होला, विगतमा फिल्म समिक्षक निकै चलेको थियो, सायद अबको पाँचवर्ष पछि सामाजिक सञ्जालको समीक्षा गर्ने कामको निकै माग हुन्छ होला, आइटीमा सबैभन्दा बढी राम्रो छ, धेरै विधाहरु छन्, जसको लागि राम्रो शिक्षक र मेन्टरको सहयोग लिन आवश्यक हुन्छ’, पाण्डेले सुझाव दिन्छन् ।
त्यस्तै, स्टार्टअप विज्ञ रञ्जित आचार्यले समाजको आवश्यकतालाई बुझेर पढ्न सक्दा पनि छिटो करिअर बनाउन सकिने सुझाव दिन्छन् । ‘समाज के हो ? समाजको आवश्यकता के छ ? समाजले के खोजिरहेको छ ? के–के विषयमा उत्पादन र उद्यमको आवश्यकता छ भन्ने विषयमा थाहा पाउन सकिन्छ, आजको युवा पुस्ताले यो बुझ्न जरुरी छ, आचार्यले नयाँ पुस्ताका युवाहरुलाई सुझाव दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *