बल्ल पल शाहमा पलायो चेत, सहानुभूति बटुल्न यस्तो अभिव्यक्ति
काठमाडौं । नाबालिग बालिका बलात्कारको आरोपमा एक वर्ष हिरासतमा बसेर उच्च अदालतबाट सफाइ पाएका अभिनेता पल शाहले आफूले जिन्दगीभर बलात्कारको ट्याग भिरिरहनुपर्ने हो भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले सोमबार राति सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै आफूले आत्मदाह गर्नुपर्ने हो र भन्ने प्रश्नसमेत छोडेका छन् । कान्तिपुर टेलिभिजनको अन्तर्वार्तालाई लिएर उनको बारेमा फेरि विभिन्न टीकाटिप्पणी हुन थालेपछि पलले यस्तो गुनासो गरेका हुन्।
आफूले कानुनअनुसार ‘सफाइ’ पाइसकेपछि पनि विभिन्न आरोपहरू खेपिरहेको गुनासो गरे। ‘मेरो पनि एउटा परिवार छ । परिवारभित्र आमा, बाबा, बहिनी, इष्टमित्रहरू पनि छन् । उनीहरूमा के बित्छ होला, जहिले बलात्कारीको ट्याग दिँदा ? कहिल्यै सोच्नुभएको छ परिवारमा पर्ने आघातका बारेमा ?’ उनले लेखेका छन् ।
पलले अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिँडौँ ? भनेर प्रश्न गरेका छन् । ‘मलाई पल शाह बनाएको तपाईहरूले हो ।
यसकारण म प्रश्न पनि तपाईहरूसमक्ष नै गर्न चाहन्छु म के गरौँ ? कसरी बाँचौँ ? कसरी हिँडौँ ?कसरी बोलौँ ? कसरी खाऊँ ? कसरी लाऊँ ? कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ ? कि मैले खुल्लमखुल्ला रत्नपार्कमा गएर आत्मदाह गरौँ ?’ उनले लेखेका छन् । कान्तिपुर टेलिभिजनमा ‘ह्वाट द फ्लप’ सञ्चालक सन्दीप क्षेत्रीले बलात्कार जस्तो जघन्य अपराधका विषयमा मजाक गरेको भन्दै चौतर्फी आलोचना भएपछि त्यो कार्यक्रमको भिडियो युट्युबबाट हटाइएको छ ।