कोशी सरकारविरुद्ध दायर रिटको बहस सकियो : आजै आदेश आउने
काठमाडौँ । कोशी प्रदेशमा कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णयविरुद्ध परेको रिट निवेदनको बहस सकिएको छ । असार २२ गते प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटको निवेदनको प्रारम्भिक सुनुवाइका लागि बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी तोकिएको थियो ।
सुनुवाइ सकिएकाले बुधबार नै आदेश आउने सर्वोच्च अदालत स्रोतले बताएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको रिटमाथि खाजा समयपछि सुनुवाइ सुरु भएको थियो । अपरान्ह ४ः३० बजे सुनुवाइ सकिएको छ । अहिले निवेदक पक्ष आदेशको पखाईमा सर्वोच्चमै कुरिरहेको छ ।
रिटमा नवनिर्वाचित मुख्यमन्त्री उद्धव थापा, प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई विपक्षी बनाइएको छ । संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुख गौतमले समेत माओवादी सांसदका रुपमा हस्ताक्षर गरेर त्यसलाई प्रदेश प्रमुखमले अनुमोदन गरेका छन् ।
सरकार गठनका लागि चाहिने ४७ सांसद संख्या गौतमको हस्ताक्षरसमेतलाई जोडेर पु¥याइएपछि एमाले प्रचलित संसदीय मूल्य मान्यता र धारा १८६ को उल्लंघन भएको भन्दै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्च गएको हो ।