बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको छ : परराष्ट्रमन्त्री साउद
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न निकायहरूका विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम सुरु भएको छ ।
परराष्ट्र मन्त्रालयसँग सम्बन्धि विनियोजन विधेयकका शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री एनपी साउदले नेपाल संविधानले निर्दिष्ट गरेको असंलग्न परराष्ट्रनीतिका आधारमा नेपालको कूटनीतिक सम्बन्ध अघि बढिरहेको बताए ।
परराष्ट्रमन्त्री साउदले आर्थिक कूटनीतिको सञ्चालनद्वारा मुलुकको आर्थिक, सामाजिक विकासका लागि मुलुकको पारस्पारिक हित र लाभका आधारमा छिमेकी लगायत विश्वका सबै मुलुकहरूसँगको मैत्रीपूर्ण सम्बन्ध सुदृढ बनाइरहेको जानकारी दिए ।
परराष्ट्रमन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयनका लागि छलफल भइरहेको र राष्ट्रियसभाका अध्यक्षको रसिया भ्रमणका भएका समझदारीका विषयमा रसियाका राजदूतसँग विवरण माग गरिएको जानकारी दिए ।
परराष्ट्रमन्त्री साउदले ७ वटा मुलुक रिक्त रहेको राजदूत नियुक्ति गर्न राजदूत नियुक्ति सम्बन्धि कार्यविधि अनुसार चाडै राजदूत नियुक्त गरिने जानकारी दिए ।
विनियोजन विधेयकका शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै उपचारका लागि विदेश जानु पर्ने अवस्था व्यवस्थापन गर्ने जानकारी दिए ।
स्वास्थ्यमन्त्री बस्नेतले सशक्त विशेष टिम बनाएर उपचारको व्यवस्था गर्ने गरी मन्त्रालयले आवश्यक निर्णयसहित व्यवस्था गरेको जानकारी दिए ।
विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न निकायहरूसँग विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिन क्रम जारी छ ।
राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रियसभाको आजको बैठक जारी छ ।