सर्पदंश : विश्वमा वार्षिक डेढ लाख मानिसले गुमाउँछन् ज्यान, बर्खा लागेसँगै नेपालमा बढे बिरामी

काठमाडौँ । बर्खा लागेसँगै देशभर सर्पदंशका बिरामी बढ्न थालेका छन्। सोमबार मात्रै बुटवलमा दुई नाबालिगसहित चार जनाले सर्पको टोकाइबाटै ज्यान गुमाए। सर्पको टोकाइबाट नेपालबाहेक विश्वमा पनि हजारौँले ज्यान गुमाउने गर्छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार प्रत्येक वर्ष विश्वभरमा २० लाख मानिस सर्पदंशको सिकार बन्छन्। तीमध्ये केहीले समयमै उपचार पाएर बाँच्छन्। समयमा उपचार नपाएर ८१ हजार देखि करिब डेढ लाख मानिसले मृत्युवरण गर्छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक २० हजार जना मानिस सर्पदंशका कारण अस्पताल भर्ना हुन्छन्। तीमध्ये समयमै उपचार नपाउँदा एक हजार जनाको मृत्यु हुने गरेको पाइन्छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त ओझाका अनुसार वैशाखदेखि असारसम्म सर्पको टोकाइबाटै नौ जनाको मृत्यु भएको छ। सर्पले टोकेको थाहा पाएपछि टोकेको घाउमा अनावश्यक सिन्दुर घस्ने, ढुंगा दल्ने, अनावश्यक झार दल्ने कसेर बाँध्नेजस्ता लापरबाहीले धेरैको ज्यान जाने गरेको डा. ओझा बताउनुहुन्छ।

किन टोक्छ सर्पले ?

सर्पले टोक्ने कुनै याम हुँदैन। यद्यपि गर्मी र बर्खामा बढी टोक्ने गरेको पाइन्छ। विशेषगरी रातिको समयमा सर्प आफ्नो आहारा खोज्न बाहिर निस्कन्छ। यस्तो बेला झुपडी, पराल या खरले छाएको घरमा सहजै छिर्छ र भुइँमा सुतेका मानिसलाई बढी टोक्छ। साथै आहारा खोज्ने क्रममा आफूलाई असुरक्षित भएको अवस्थामा पनि सर्पले टोक्ने गरेको पाइन्छ।

टोकेको थाहा हुन्छ ?

लुम्बिनी प्रादेशिक अस्पतालका इमरजेन्सी इन्चार्ज शिव कुँवरका अनुसार पानी पर्ने समय वैशाखदेखि कात्तिकको सर्पदंशका बिरामी बढी आउँछन्। यिनमा गोमन, करेटजस्ता विषालु सर्पले टेकेका धेरै हुन्छन्।

‘रातिको समयमा आफ्नो गुणबाट बढी निस्कने करेट सर्पले टोकेको छिटो थाहा हुँदैन। सर्पले टाउकोको नजिक तथा शरीरमा टोकेको छिटो असर गर्छ तर खुट्टामा टोकेको त्यति छिटो थाहा हुन्न,’ डा. कुँवर भन्नुहुन्छ, ‘करेट सर्पले रातिको समयमा टोकेको मानिसलाई बिहान सम्म पनी थाहा नपाउँदा पनि कतिपय बिरामीको मृत्यृ भएको छ।’

उहाँका अनुसार सर्पले टोकेको भन्ने थाहा नपाएर घाउको वरपर कन्याउने, घाउ बढ्दै गएर अन्तिम अवस्था भएपछि उपचार गर्न ल्याउने गर्दा पनि बिरामीको बाटोमै निधन हुन्छ। ‘सर्पले टोकेको यकिन हुनासाथ अस्पतालमा ल्याए बिरामीले तत्काल उपचार पाउँछ,’ डा. कुँवरले भन्नुभयो, ‘अन्यथा ज्यानसमेत जान सक्छ।’

लक्षण र उपचार

अस्पताल आउने सर्पदंशका धेरैजसो बिरामीलाई कुन सर्पले, कुन समयमा टोकेको थाहा हुँदैन। सर्पदंशका बिरामीलाई आँखा खोल्न नसक्ने, थुक निल्न नसक्ने, बोल्न नसक्ने, हातखुट्टा झमझम हुने, टोकेको ठाँउ वा नाकबाट रगत बग्ने जस्ता लक्षण देखिन्छन्। यस्तो अवस्थामा ६ घण्टादेखि २४ घण्टासम्म राखेर उपचार सुरु गरिने डा. कुँवर बताउनुहुन्छ।

लक्षणअनुसार बिरामीलाई आइसियूमा पाँचदेखि सात दिनसम्म राखेर उपचार गरिन्छ। यदि बिरामीलाई कुनै लक्षण नदेखिएमा अविषालु सर्पले टोकेको ठहर हुन्छ र सामान्य उपचार गरेर घर पठाइन्छ।

नेपाल आर्मीको सर्पदंश उपचार केन्द्र

जनतालाई सर्पदंशबाट बचाउन नेपाली सेनाले देशभर २३ वटा सर्पदंश उपचार केन्द्र सञ्चालन गरेको छ। हालसम्म नेपाली सेनाले  सर्पदंशका ६१ हजार नौ सय ३० जनाको उपचार गरेको नेपाल आर्मीका सूचना अधिकारी सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो। यस्तै आर्मीले सर्पदंश उपचारका लागि ब्यारेकबाट तालिम पनि दिने गरेको उहाँको भनाइ छ।

सर्पको टोकाइबाट बच्न के गर्न सकिन्छ त ?

सर्पदंशबाट बच्न भुँइमा नसुत्ने, सुत्नै परेमा झुलको प्रयोग गर्नुपर्छ। सकेसम्म अग्ला खाटमा सुत्ने, आफू बस्ने ठाँउवरपर सरसफाइ गर्ने, घरका झ्यालहरूमा जाली हाल्ने, दुलोलाई राम्रो सँग टाल्ने, रातिको समयमा बाहिर निस्कनु परेमा बुट तथा शरीर ढाक्ने कपडा लगाउने, हातमा लठ्ठी बोकेर भुँइमा ठटाउँदै हिड्ने गर्न सकिन्छ। यति गर्दा पनि सर्पले टोकिहाल्यो भने थाहा पाउनेबित्तिकै तुरुन्त अस्पताल लैजानुपर्छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *