काटिएका चेक बाहेक नयाँ भुक्तानीमा रोक
काठमाडौं । सरकारले आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली अनुसार चालू आर्थिक वर्षको अन्तिम दिन कुनै पनि नयाँ भुक्तानी दिन रोक लगाईएको छ । महालेखा नियन्त्रकको कार्यालयले यसअघि नै परिपत्र गर्दै असार २४ गते अर्थात आर्थिक वर्ष सकिन एक साता अगाडी देखि नै नयाँ भुक्तानीमा रोक लगाएको थियो । उक्त नियमावलीको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको खाता असार २४ गतेदेखि नै रोकिएको थियो ।
तर, संघीय सरकारलाई अत्यावश्यक, रकमान्तर र स्रोतान्तर गरेको खर्च भुक्तानी गर्न सुविधा शनिबारसम्म रहेकोमा आइतबार कुनै पनि भुक्तानी गर्न नपाउने भएको हो । सोही व्यवस्था अनुसार महालेखा नियन्त्रकको कार्यालयले आइतबार हुने सम्पूर्ण खर्च भुक्तानीमा रोक लगाएको हो । कार्यालयका अनुसार नयाँ भुक्तानीमा रोक लगाएपनि यसअघिका मितिमा काटिएका चेक साटिने छ । सरकारले एक वर्षको अबधिमा करिब साढे १४ खर्ब हाराहारिमा बजेट खर्च गरेको छ । शुक्रबारसम्मको तथ्यांक अनुसार १४ खर्ब २८ अर्ब ८९ करोड ७६ लाख रुपैयाँ बराबरको बजेट खर्च भएको हो । यो खर्च हालसम्मकै उच्च हो । महालेखाको तथ्यांक अनुसार विनियोजनको ७९.६६ प्रतिशत बजेट खर्च भएको छ ।
जसमा विनियोजन बजेटको ६१ प्रतिशत अर्थात् २ खर्ब ३२ अर्ब ६८ करोड पुँजीगत खर्च भएको छ भने १ खर्ब ८९ अर्ब ४१ करोड वित्तीय व्यवस्थामा खर्च भएको छ । सरकारले सबैभन्दा धेरै १० खर्ब ६ अर्ब चालु खर्च गरेको छ । खर्चको तुलनामा सरकारको आम्दानी न्यून रहेको छ । सरकारले एक वर्षमा ९ खर्ब ९५ अर्ब ६० करोड रुपैयाँ बराबरको आम्दानी गरेको छ । जसमा ९ खर्ब ३५ अर्ब राजस्व, ७ अर्ब ४२ करोड अनुदान र ५२ अर्ब ७० करोड अन्य आम्दानी भएको छ । खर्चको तुलनामा आम्दानी कम हुँदा ४ खर्ब ३३ अर्ब २९ करोड ७१ लाख रुपैयाँ हाराहारिमा सरकारी खाता नोक्सानीमा गएको छ ।