मेनपावर कम्पनी र अध्यागमन विभाग दुई ध्रुवमा, मौन सरकार

काठमाडौं । वैदेशिक रोजगारका विषयमा मेनपावर कम्पनी र अध्यागमन विभाग दुई धु्रवमा देखिएका छन् । केही दिन अगाडि विभिन्न मेनपावर कम्पनीले वैदेशिक रोजगारीका लागि कुवेत जान अनुमति दिएर पठाएकालाई अध्यागमन विभागले ११७ जनालाई दुई किसिमको भिसा र घरेलु कामदारमा पठाउन लागेको भन्दै अयोग्य ठहर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरेको थियो ।

गत बुधबार सलाम एयरमार्फत टिकट लिएका १०१ जना र कुवेत एयरमार्फत टिकट लिएका १६ जना श्रमिक फिर्ता भएका थिए । दोस्रोपटक पनि अध्यागमनले विभागले कुवेत हिँडेका ३७ श्रमिकलाई त्रिभुवन विमानस्थलबाट फर्काएको छ । २७ असारमा रोकिएका श्रमिकमध्ये ३७ जना पुनः टिकट खरिद गरी शुक्रबार बेलुका सलाम र जजिरा एयरलाइन्समार्फत कुवेत उड्न विमानस्थल पुगेपछि कागजात नपुगेको भन्दै उनीहरूलाई रोजगारीमा जान रोक लगाएको थियो ।

अनुसन्धान जारी रहेकाले वैदेशिक रोजगारीमा कुवेत जान श्रमिकहरूलाई अहिले अनुमति नदिएको अध्यागमन विभागका सूचना अधिकारी झंकनाथ ढकालको जनाएका छन् ।

इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत चारजना श्रमिकले कुवेतको भिसाका लागि श्रम स्वीकृति लिएका थिए । दोस्रोपटक ३७ जनाको टोलीमा निरकमल एचआर म्यानपावर कम्पनीबाट ११ जना, जजिरा एयरलाइन्सबाट र चारजना सलाम एयरबाट कुवेत जान लागेका थिए । युथ म्यानपावरले पठाएका १३ जना जजिरा एयर र नौजना सलाम एयरबाट कुवेत जान लागेका थिए ।

दुईपटक नै कुवेत जान लागेका नेपाली श्रमिकलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट फिर्ता गरेपछि आइतबार मेनपावर व्यावसायीहरूले अध्यागमन विभाग घेराउ गरेका छन् भने अध्यागमन विभागका महानिर्देशकको राजीनामाको मागसमेत गरेका छन् ।

यस विषयमा मेनपावर कम्पनीहरूले सम्पूर्ण प्रक्रिया पुर्याएर वैदेशिक रोजगारीमा पठाउन अनुमति दिएको बताउँदै आएको छ भने अध्यागमन विभागले प्रक्रिया नपुर्याई मापदण्डविपरीत पठाएको बताएको दाबी गरेको छ । अध्यागमन विभागले अनुसन्धानका क्रममा त्रुटि फेला परेपछि नागरिकहरूले विदेशमा पुगेपछि समस्यामा पर्न नहुने बताउँदै आएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी संस्थागत रूपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेकालाई अध्यागमनले रोक्न नहुने मेनपावर व्यावसायीहरूको माग छ । यी दुई निकायबीचको विवादका कारण वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरूले सास्ती खेप्नुपरेको छ । नेपाली नागरिकलाई विभिन्न प्रलोभन देखाएर विदेश पठाउँदा धेरै समस्या भोग्नुपरेको सामाजिक सञ्जालमा दिनप्रतिदिन प्रकाशन र प्रशारण भइरहेकाले गैरकानुनी रूपमा विदेश सम्झौता नगरी पठाउन नहुने अध्यागमन विभागले जनाउँदै आएको छ ।

नेपालमा मात्र रोजगारको सम्भावना न्यून भएपछि बढी कमाउने र राम्रो भविष्य निर्माणका लागि विदेश जानेको संख्या दिनप्रतिदिन बढिरहेका बेला मेनपावर व्यावसायीहरूले श्रमिकको मनोविज्ञान, क्षमता, हेरेर मनपरी ढंगले पैसा लिने गरेका छन् । नेपाल सरकारले विभिन्न मेनवार व्यावसायीलाई १० हजार मात्र लिएर रोजगारीमा श्रमिकलाई पठाउने नियम ल्याए पनि त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

मेनपावर कम्पनीहरूले साक्षर व्यक्तिलाई पनि अन्तर्वार्ता पास गराउन मान्दैनन्, जसले बढी पैसा तिर्न सक्छ उसलाई अन्तर्वार्ता पास गराउने गरेको कुरा सत्य हो । अहिले खाडी मुलुक जानेहरूले मेनपावरमा एक लाख ८० हजारदेखि तीन लाखसम्म लिने गरेका छन् । श्रमिकले खातामा पैसा जम्मा गरिदिन्छु भन्दा मेनपावर कम्पनीले खातामा पैसा जम्मा गर्न मान्दैन र क्यास दिन अनुरोध गर्छ । श्रमिकले पैसा बुझाएपछि कम्पनीले जति तिरे पनि विमानस्थलमा १० हजार तिरेको भन्न अनुरोध गर्दै सोहीअनुसारको कागजात बनाइदिन्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *